ब्रेकिंग न्युज

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै



महोत्तरी, २९ कात्तिक

लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्। मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्व गत शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो। कात्तिक शुक्ल पञ्चमीका दिन दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने विधिलाई ‘खरना’ भनिन्छ। खरना सम्पन्न गरेपछि व्रतालुको निराहार व्रत सुरु हुने परम्परा छ। भगवान् सूर्य र सूर्यपत्नी षष्ठी अर्थात् छठी देवीको आराधना गरिने यस पर्वमा आज साँझ पवित्र जलाशयमा बनाइएका घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइन्छ। मिथिलामा यस विधिलाई ‘सझियाअरख’ वा ‘सझियाघाट’ भनिन्छ। अर्घ्यका लागि घरघरमा ठकुवा, भुसुवालगायत मिष्ठान्न परिकार तयार गरिएका छन्। व्रतालुले जटासहितको नरिवल, केरा तथा अन्य फलफूल र प्रसादका सामग्री सूर्यदेवलाई अर्पण गर्नेछन्। साँझको अर्घ्य दिएपछि व्रतालु रातभर जलाशय किनारमा बसेर छठी देवी र सूर्यको महिमासम्बन्धी गीत गाउने परम्परा छ। भोलिपल्ट सोमबार बिहान सूर्योदय हुनुअघि नै व्रतालु जलाशयमा कम्मरसम्म डुब्ने गरी पानीमा बसेर सूर्य उदाउने प्रतीक्षा गर्छन्। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने पर्व सम्पन्न हुन्छ। मिथिलामा बिहानको यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। सूर्य र छठी देवीको उपासनाबाट मनोकामना पूरा हुने, सुख–समृद्धि प्राप्त हुने, सन्तानबाट सुख मिल्ने तथा रोगव्याधिबाट मुक्ति पाइने जनविश्वास छ।

प्रकाशित : ३० कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६