ब्रेकिंग न्युज

स्वास्थ्य सेवामा स्थानीय प्रतिबद्धता बलियो, २० हजार भन्दा बढी नागरिक लाभान्वित



प्रेसपाटी डेक्स, २९ कात्तिक

नागरिकको स्वास्थ्य सुरक्षा, उपचारमा सहज पहुँच र जनस्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्दै कपिलवस्तुको शिवराज नगरपालिकाले स्वास्थ्य क्षेत्रमा स्थानीय स्रोतको परिचालन बढाएको तथ्यले पुष्टी गरेको छ। संघीय सरकारको अनुदानमा मात्र निर्भर नभई आफ्नै आन्तरिक स्रोतबाट उल्लेख्य बजेट विनियोजन गरेको नगरपालिकाले स्वास्थ्य सेवालाई उपचारसँगै रोकथाम, उद्धार, पुनःस्थापना र जनचेतनासँग जोडेर कार्यक्रम सञ्चालन गरेको छ।
नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति, बजेट तथा कार्यक्रमको सम्पन्न प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रमा कुल ५ करोड ५६ लाख ७६ हजार २०० रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये संघीय ससर्त अनुदानबाट १ करोड ६१ लाख ७९ हजार रुपैयाँ अर्थात् करिब २९ प्रतिशत र नगरपालिकाको आफ्नै स्रोतबाट ३ करोड ९४ लाख ९७ हजार २०० रुपैयाँ अर्थात् करिब ७१ प्रतिशत बजेट छुट्याइएको छ।
संघीय अनुदानको तुलनामा नगरपालिकाको आन्तरिक स्रोतबाट झन्डै दुई दश मलव चार गुणा बढी बजेट विनियोजन हुनुले जनस्वास्थ्यप्रति स्थानीय सरकारको वित्तीय प्रतिबद्धता देखाएको छ। संघीय अनुदानको सीमाभन्दा बाहिर रहेर स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गर्ने प्रयासलाई स्थानीय तहको जिम्मेवारी र स्वायत्तताको अभ्यासका रूपमा लिन सकिन्छ।
उपचारसँगै उद्धार र जीवन रक्षामा जोड
शिवराज नगरपालिकाले स्वास्थ्य सेवालाई नियमित उपचारमा मात्र सीमित नराखी आकस्मिक उद्धार तथा जीवन रक्षाका कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ। नगरपालिकाको उपलब्ध विवरण अनुसार १३७ जना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराइएको छ भने सर्पदंशबाट प्रभावित २१० जनालाई निःशुल्क उपचार तथा एम्बुलेन्स सेवा प्रदान गरिएको छ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र जैविक विविधता संरक्षणलाई समेत स्वास्थ्य तथा सामाजिक सुरक्षासँग जोड्दै ५२५ वटा सर्पको सुरक्षित उद्धार गरी प्राकृतिक बास स्थानमा फर्काइएको छ। यसले मानव जीवनको सुरक्षा र पर्यावरणीय सन्तुलनबीच सह अस्तित्व कायम गर्ने प्रयासलाई उजागर गरेको छ।
घरदैलो स्वास्थ्य सेवा र सामाजिक समस्याको सम्बोधन
नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा, मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा लागुऔषध दुव्र्यसन न्यूनीकरणका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ। ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामका लागि संघीय स्रोतबाट ५० हजार रुपैयाँ र विपन्न दुव्र्यसनीलाई पुनःस्थापना केन्द्रमा पठाउन स्थानीय स्रोतबाट दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। प्रजनन स्वास्थ्य तथा परिवार नियोजनका कार्यक्रमअन्तर्गत स्थानीय स्रोतबाट दुई लाख र संघीय अनुदानबाट परिवार योजना तथा प्रजनन रुग्णता व्यवस्थापनका लागि तीन लाख ८२ हजार रुपैयाँ छुट्याइएको छ।
यी कार्यक्रमले स्वास्थ्यलाई रोग लागेपछि उपचार गर्ने विषयका रूपमा नभई नागरिकको शारीरिक, मानसिक तथा सामाजिक कल्याणसँग जोडेर हेर्ने नगरपालिकाको नीतिगत दृष्टिकोणलाई प्रतिबिम्बित गरेका छन्।
२० हजारभन्दा बढी नागरिक स्वास्थ्य कार्यक्रमको पहुँचमा
नगरपालिकाको प्रगति विवरण अनुसार स्वास्थ्य परीक्षण, उपचार तथा जनचेतनामूलक कार्यक्रमबाट २० हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्। विद्यार्थी, ज्येष्ठ नागरिक तथा नसर्ने रोग (एनसीडी) सम्बन्धी जोखिममा रहेका नागरिकलाई लक्षित गरी स्वास्थ्य परीक्षण र सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
त्यस्तै आँखा शिविर तथा विशेषज्ञ अस्पतालको सेवा मार्फत पाँच हजार भन्दा बढी नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन्। रगत उपलब्धता, सर्पदंश उपचार तथा सुरक्षित मातृत्व सेवामार्फत एक हजारभन्दा बढी नागरिकको जीवन रक्षा भएको नगरपालिकाको विवरणमा उल्लेख छ। सडक मानव तथा लागुऔषध दुव्र्यसनमा फसेका १४ जनाको उद्धार गरी सामाजिक पुनःस्थापनाको प्रयास समेत गरिएको छ।
लगानीसँगै सेवाको गुणस्तर र प्रभावकारितामा जोड
स्वास्थ्य क्षेत्रमा आफ्नै स्रोतबाट उल्लेख्य बजेट विनियोजन गर्नु सकारात्मक भए पनि त्यसको वास्तविक उपलब्धि नागरिकले प्राप्त गर्ने सेवाको गुणस्तर, पहुँच र निरन्तरताबाट मापन हुन्छ। बजेट विनियोजनसँगै कार्यक्रमको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, दक्ष जनशक्तिको व्यवस्थापन, औषधिको नियमित उपलब्धता र सेवाको समान पहुँच सुनिश्चित गर्नु नगरपालिकाका लागि उत्तिकै महत्त्वपूर्ण छन्।
विशेषगरी मानसिक स्वास्थ्य, लागुऔषध दुव्र्यसन, नसर्ने रोग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य जस्ता विषयमा एकपटकका कार्यक्रम भन्दा निरन्तर सेवा र समुदायस्तरको सचेतना प्रभावकारी हुन सक्छ। त्यसैले आगामी दिनमा तथ्याङ्कमा देखिएका उपलब्धिलाई थप व्यवस्थित बनाउँदै सेवाको पहुँचबाट बाहिर रहेका नागरिक सम्म स्वास्थ्य सेवा पु¥याउनु आवश्यक देखिन्छ।
संघीयताको मर्मअनुसार स्थानीय आवश्यकता पहिचान गरी आफ्नै स्रोत परिचालन गर्नु शिवराज नगरपालिकाको स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण पक्ष हो। स्वास्थ्यमा स्थानीय लगानी बढाउने यो प्रयासलाई दिगो बनाउन पारदर्शी खर्च, परिणाममुखी कार्यक्रम र नागरिकको प्रत्यक्ष अनुभूतिमा आधारित सेवा प्रवाहलाई प्राथमिकता दिन सके जनस्वास्थ्य सुधारको लक्ष्य थप प्रभावकारी बन्नेछ ।

प्रकाशित : ३० कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६