देश

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न



महोत्तरी, ३० कात्तिक

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ । गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । महोत्तरीसहितका तराई मधेशमा सूर्योदय हुनासाथ बर्तालुले सूर्यदेवलाई अघ्र्य अर्पण गरेका हुन् । यसअघि बर्तालुले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । अहिले सूर्य उपासनाको पर्व सम्पन्न भएसँगै बर्तालु छठी घाटबाट घर फर्केका छन् । यसअघि चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत सङ्कल्प गरेर ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुले पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन यो पर्व विभिन्न विधि साथ मनाइन्छ । अस्ताउँदा सूर्यदेवलाई पहिलो अघ्र्य दिइने षष्ठी तिथिको साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ । यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएर पर्व सम्पन्न गरिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिएको छ । पर्व सम्पन्न गरेर घर फर्केपछि बर्तालुले दीनदुःखी र आशामुखीहरुलाई अन्न, वस्त्र दान गरी प्रसाद ग्रहण गर्छन् । यससँगै पर्वका प्रसाद खाने ख्वाउने क्रम सुरु हुन्छ । यस पर्वमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार तथा केरा र अन्य फलफूल एवं माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइएका बस्तु प्रसाद हुन्छन् । मिथिलामा छठको प्रसाद खाने ख्वाउने क्रम महिना दिनसम्म चलीरहन्छ । खासगरी छोरीचेली, फुपू, मित र अन्य इष्टमित्रकहाँ छठको प्रसादको ‘भार’ (सोली) नै पठाउने मैथिल चलन छ । छठ व्रतको प्रभावले सुखसन्तोष प्राप्त हुने र रोगव्याध नलाग्ने जनविश्वास छ ।

प्रकाशित : १ मंसिर २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६