जेरुसेलम, ७ मङ्सिर (रासस/सिन्ह्वा) :
इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक क्षेत्रीय युद्ध निम्त्याउन सक्ने चेतावनी इजरायली रक्षा बल (आईडीएफ) ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई दिएको छ । द टाइम्स अफ इजरायलले आइतबार सार्वजनिक गरेको समाचारअनुसार, इजरायलले इरानविरुद्ध सैन्य विकल्पबारे विचार गरिरहेका बेला गत साता नेतान्याहु र वरिष्ठ रक्षा अधिकारीहरूबीच भएको गोप्य बैठकमा सेनाले यस्तो चेतावनी दिएको हो। समाचारमा हिब्रु भाषाको टेलिभिजन नेटवर्क च्यानल १२ लाई उद्धृत गरिएको छ । इजरायली सैन्य गुप्तचर निकायले इरानमाथि आक्रमण भए लेबनान, सिरिया र गाजासहित विभिन्न मोर्चामा एकैपटक द्वन्द्व चर्किन सक्ने आकलन गरेको छ । नेतान्याहु र इजरायली गुप्तचर संस्था मोसादले भने सम्भावित सैन्य कारबाही तीनदेखि पाँच दिनभित्र सीमित गर्न सकिने अपेक्षा गरेको समाचारमा उल्लेख छ । यसैबीच, विपक्षी राजनीतिज्ञ अविग्दोर लिबरम्यानले नेतान्याहुले अमेरिकाको सहभागिता वा स्वीकृतिबिनै एकपक्षीय रूपमा इरानमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको समाचारमा जनाइएको छ । लिबरम्यानले गत साता इजरायलले अहिले इरानमाथि आक्रमण गर्नु उचित नहुने बताउँदै यस्तो कदम पूर्ण रूपमा राजनीतिक स्वार्थबाट प्रेरित हुने टिप्पणी गरेका थिए । सार्वजनिक प्रसारक कानलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार, एक अज्ञात स्रोतले नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि ‘सकेसम्म चाँडो’ आक्रमण गर्न आग्रह गरिरहेको दाबीसमेत गरेको छ।









प्रतिक्रिया