कपिलवस्तु, ८ मंसिर
कपिलवस्तुको बाणगंगा नगरपालिका–७ बनगाईमा एनएमबी बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकको शाखाको सोमबार एक समारोहबीच बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले उद्घाटन गर्नुभएको हो।
शाखा उद्घाटन गर्दै नगरप्रमुख अर्यालले बैंक तथा वित्तीय संस्था स्थानीय आर्थिक विकासका महत्वपूर्ण साझेदार भएको बताउनुभयो। उहाँले एनएमबी बैंकले लामो समयदेखि नगरपालिकामा वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक सुरक्षा भत्ता वितरण लगायतका सार्वजनिक सेवा प्रवाहमा सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो।

स्थानीय नागरिकलाई सहज, सरल र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउन बैंकको शाखा विस्तारले योगदान पु¥याउने विश्वास व्यक्त गर्दै उहाँले वित्तीय पहुँच विस्तारसँगै स्थानीय आर्थिक गतिविधि थप व्यवस्थित र गतिशील बन्ने अपेक्षा गर्नुभयो।
बनगाईमा शाखा सञ्चालनमा आएसँगै स्थानीय नागरिक, उद्योगी, व्यवसायी, कृषक तथा सर्वसाधारणलाई बैंकिङ कारोबारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने देखिएको छ। स्थानीय स्तरमै बैंकिङ सेवा उपलब्ध हुँदा निक्षेप संकलन, कर्जा प्रवाह, रेमिट्यान्स, डिजिटल भुक्तानी तथा अन्य वित्तीय कारोबार सहज हुने अपेक्षा गरिएको छ।

विशेषगरी कृषि, साना तथा मझौला उद्यम र स्थानीय व्यापार व्यवसायमा वित्तीय पहुँच बढाउन बैंकको भूमिका महत्वपूर्ण हुन सक्छ। बैंकिङ सेवाको विस्तारलाई कारोबार केन्द्र थप्ने विषयमा मात्र सीमित नराखी स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनासँग जोड्न सके यसले क्षेत्रीय आर्थिक विकासमा थप योगदान पु¥याउने देखिन्छ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष विष्णु गिरी, वडा नं. ९ का वडाध्यक्ष कमल पौडेल, एनएमबी बैंक चन्द्रौटा शाखा प्रमुख लालबहादुर भण्डारी, गोरुसिङ्गे तथा जितपुर शाखाका प्रमुख, समाजसेवी कृष्ण पाण्डे, काशिराम दमासे लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, उद्योगी–व्यवसायी र पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले बैंकको शाखा विस्तारले बनगाई क्षेत्रको आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।









प्रतिक्रिया