अर्थ-वाणिज्य

२९ करोडको होल्डिङ सेन्टर प्रयोगविहीन, ६० भवन जीर्ण बन्दै



बाँके, १२ मंसिर

कोरोना महामारीका बेला सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको नेपालगन्जस्थित होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ। नियमित प्रयोग र मर्मत सम्भारको अभावमा २९ करोड ३८ लाख रुपैयाँको सार्वजनिक लगानी खेर जाने जोखिम बढेको छ।

नेपालगन्ज उपमहानगरपालिका–१४ मा चार बिघा १३ धुर सरकारी जग्गामा निर्माण गरिएको एक हजार क्षमताको होल्डिङ सेन्टरमा ६० वटा भवन छन्। आइसोलेसन कक्ष, शौचालय, भण्डार, भान्सा र भोजन कक्षसहितका संरचना निर्माण गरिए पनि सञ्चालनमा ल्याउनुअघि नै कोरोना सङ्क्रमण नियन्त्रणमा आएपछि ती संरचना लामो समयदेखि प्रयोगविहीन छन्।

होल्डिङ सेन्टरको सुरक्षा तथा रेखदेख नेपाली सेनाको बज्रदल गण, राँझाले गर्दै आएको छ। सेनाले उक्त संरचना स्थानीय तहलाई हस्तान्तरण गरी सार्वजनिक प्रयोजनमा उपयोग गर्न सकिने प्रस्ताव अघि सारेको छ।

नेपालगन्ज उपमहानगरपालिकाले पनि वैकल्पिक उपयोगबारे छलफल गरिरहेको जनाएको छ। नगर प्रमुख प्रशान्त विष्टले होल्डिङ सेन्टरलाई लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्रका रूपमा सञ्चालन गर्न सकिने सम्भावना औँल्याउनुभएको छ।

नागरिक अगुवाहरूले करोडौँको लगानीबाट बनेका संरचना अलपत्र पार्नुभन्दा तत्काल उपयोगको योजना बनाउन सरकारसँग माग गरेका छन्। स्वास्थ्य सेवा, विपद् व्यवस्थापन तथा उपचार र पुनःस्थापनाजस्ता सार्वजनिक आवश्यकतामा प्रयोग गर्न सकिने पूर्वाधार संरक्षण र सदुपयोगमा सम्बन्धित निकायले ढिलाइ गर्न नहुने उनीहरूको जोड छ।

सार्वजनिक सम्पत्तिको संरक्षणसँगै नागरिकको आवश्यकता अनुसार उपयोग गर्ने नीति नबन्दा विकास बजेटबाट निर्मित संरचना नै राज्यका लागि आर्थिक भार बन्ने जोखिम यसले देखाएको छ।

प्रकाशित : १३ मंसिर २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६