प्रदेश

कपिलवस्तुका सकिलको प्रश्न : ३३ जनाको तलब आउदाँ हामी २२ जनाको नाम किन हरायो ?



कपिलवस्तु १५ फागुन  । कपिलवस्तु मायादेबि गाउपालिका १ पकडीका सकिल अहमद मुसलमान आज भन्दा ४ बर्ष अघि २०७२ श्रावण ३० गते काठमाण्डौ स्थित प्याराडाइज इन्टरनेशनल म्यानपावर मार्फत बैदेशिक रोजगारीका लागी कतार उड्नुभयो । कम्पनीमा उहाँका १ बर्ष राम्रै सँग बिते । एजेन्ट र म्यानपावर कम्पनीका मानिसले भने अनुसारकै काम र तलब पाउदा उहाँ सन्तुष्ट नै हुनुहुन्थ्यो । अझै त्यस माथी ओभर टाईम पनी । तर त्यो खुसी धेरै समय टिक्न सकेन । अनी सुरु भए दुःखका दिनहरु, त्यसपछी उहाको समयमा तलब आउन छाड्यो । ऋण खोजेर कतारको मर्करी मीना इलेक्ट्रो मेकानिकल कम्पनीमा ईलेक्ट्रिकल हेल्पर काममा पुग्नुभएका सकिलले सोचेजस्तो भएन । काम गर्दा गर्दैको कम्पनी बन्द भयो ।

       काम गरेबापतको तलब पनि पाउनुभएन । तलब नपाएको ३,४ महिनामा कम्पनीमा कार्यरत कामदारहरु मिलेर आवाज उठाएपछी तलब आउथ्यो तर १ महिनाको मात्रै, उहाले यसरी थप १० महिना कम्पनीमा काम गर्नुभयो । उहाका थप ४ महिना कतारमै बसेर आफुले गरेको कामको पारिश्रमिक पाउनका लागी न्याय खोज्दै बिते तर केही सिप लागेन । अन्ततः काम गरेबापतको ७ हजार ६ सय ५८ कतारी रियाल अर्थात झण्डै २ लाख ४१ हजार रुपैयाँ छोडेर सकिल नेपाल फर्कनुपर्यो । उहाले बैदेशिक रोजगारीकै लागी कतारमै रहेका आफ्नै भाई सँग नेपाली रु ६० हजार सापट मागी टिकट काटेर २०७४ कार्तिक १४ मा नेपाल आउनुभएको पे्रसपाटी अनलाईन सँग फोन सम्पर्कमा बताउनुभयो ।

            उहाँले भन्नुभयो, “सुरुवातका २ महिना ५० कतारी रियाल दिएपनी पछी त मासिक २० रियाल मात्रै दिन्थ्यो,–जुन पैसा तरकारी किन्दै सकिन्थ्यो” सकिल त एक पात्र मात्रै हो सोही कम्पनीमै काम गरेर पुरा पारिश्रमिक नपाएका सकिल जस्तै अन्य ५४ जना छन जस मध्ये कपिलवस्तुकै ज्ञान चन्द कुर्मी र रुपन्देहीका बिनोद कुमार भर पनी हुनुहुन्छ । कपिलवस्तुका भर पनी हाल बैदेशिक रोजगारीकै शिलशिलामा बहराईन हुनुहुन्छ ।  


                  सकिल नेपाल त फर्किनुभयो । तर कम्पनीमा आफुले काम गरेको पारिश्रमिक नपाएर घर फर्किनुभएका सकिललाई नेपाल फर्किदा भाई सँग सापट लिएको ६० हजार तिर्नु त छदै थियो, त्यसमाथी घरपरिवारको आर्थिक बोझ पनी थियो । करिब ५ महिना नेपाल बसेर उहाँ पुन  २०७४ चैत्र २ गते काठमाडौ स्थित अर्कै म्यानपावर बाट पुन कतार नै जानुभयो, हाल उहाँ कतार नै हुनुहुन्छ, आगामी चैंत्रमा उहा दोस्रो कम्पनीमा गएको २ बर्ष पुग्दैछ । उहाँले उक्त पहिलेको कम्पनीमा काम गर्दाको पारिश्रमिक पाउने आशा मारिसक्नुभएको थियो तर  गत माघ १९ गते वैदेशिक रोजगार विभागले कतारको मर्करी मीना कम्पनीबाट बाँकी रहेको तलब नलिई फर्किएका ३३ जना श्रमिकलाई आफू उक्त कम्पनीमा काम गरेको प्रमाण सहित ७ दिन भित्र विभागमा सम्पर्क गर्न सूचना प्रकाशन गर्यो । माया मारिसकेको पैसा पाउने खबर सुनेपछि सकिलले हतार हतार सूचना पढ्नुभयो ।

            तर ३३ जनाको सूचीमा उहाँको नामै थिएन । आफूसहित ५५ जनाले कतारमा रहेको नेपाली दूतावासमा आफ्नो समस्यासहित निवेदन दिए पनि किन ३३ जनाको मात्र पैसा आयो भनेर उहाँ छक्क पर्नुभयो । ‘पीडित त म पनि हो, म जस्तै अरु साथीहरु पनि हुन् तर पैसा किन सबैको आएन ?’ सकिल सोध्नुहुन्छ, ‘पैसा त सबैले पाउन पर्यो नि, कोहीलाई पैसा दिने हामीले चाहिँ पैसा किन नपाएको भन्ने कारण पनि नदिने किन ? घर फर्किनुअघि ५५ जना कतारमा रहेको नेपाली दूतावासमा गएर आफूले पाउन बाँकी तलब उल्लेख गरेर निवेदन दिएको सकिल मोहम्मद मुसलमान बताउनुहुन्छ ।

            उहाँका अनुसार त्यो बेला निवेदन दिने ३३ जनाको पैसा आएको भए पनि उहाँसहित अझैं २२ जनाको बाँकी छ । वैदेशिक रोजगार विभागका अनुसार ३३ जना श्रमिकको काम गरेबापतको ३ देखि ६ महिनासम्मको २ लाख ८५ हजार कतारी रियाल अर्थात झण्डै ८५ लाख रुपैयाँ कतार सरकारले दिने भएको छ । यो कम्पनी २०१७ मै पूर्णरुपमा बन्द भइसकेको भए पनि कतार सरकारको पहलमा श्रमिकले बाँकी तलब पाएको विभागले जनाएको छ । तर हालसम्म उनीहरुको हातमा कुनै रकम परेको छैन । 

मर्करी मीना कम्पनीको परिचय 

          मर्करी मीना एक मेकानिकल, इञ्जिनियरिङ र प्लम्बिङको काम गर्ने मल्टिनेशनल कम्पनी हो । तर यो कम्पनीमा कार्यरत श्रमिक २०१७ मा कम्पनीकै क्याम्पमा अलपत्र परे । कम्पनी बन्द नहुँदा पनि यस कम्पनीमा श्रमिक जबर्जस्ती श्रममा परेको एम्नेष्टी इन्टरनेशनलको अध्ययनले देखाएको थियो । यो कम्पनीले लामो समयसम्म श्रमिकलाई तलब नदिने, निरन्तर झुटो आश्वासन दिने, उनीहरुलाई उपलब्ध गराउनुपर्ने कानुनी कागजात नदिने र कतिपय श्रमिकलाई काम परिवर्तन गर्न र कतारबाट बाहिर जान समेत प्रतिबन्ध लगाएको एम्नेष्टीको प्रतिवेदनमा उल्लेख छ । यो कम्पनी २०१७ मा पूर्ण रुपमा बन्द भएपछि भने त्यहाँ कार्यरत सबै देशका श्रमिक अलपत्र परेका थिए । 

किन छुटे त २२ जना ?


वैदेशिक रोजगार विभागले कतारको मर्करी मीना कम्पनीबाट बाँकी रहेको तलब नलिई फर्किएका ३३ जना श्रमिकलाई आफू मर्करी मीना कम्पनीमा काम गरेको प्रमाणसहित ७ दिन भित्र विभागमा सम्पर्क गर्न सूचना प्रकाशन गरे पनी अन्य २२ जनाको नाम भने छुट्योे । जसमा एम्नेष्टी इन्टरनेशनल नेपालले उक्त कम्पनीबाट पीडित भएका श्रमिकको तर्फबाट विभागमा उजुरी दिन सहयोग गरेको थियो । एम्नेष्टीका प्रतिनिधि पटक पटक कतार पनि गएको र पछि विभागमा निवेदन दिने बेलामा ६२ जना श्रमिकलाई सम्पर्क गर्दा ३५ जनासँग मात्र मञ्जुरी लिन सकेको एम्नेष्टी इन्टरनेशनल नेपालकी अभियान संयोजक अश्मिता सापकोटा बताउनुहुन्छ । यता कपिलवस्तुका सकिलले पनीे आफु लगायतका २२ जना मध्ये केही साथिहरु नेपाल फर्केर रोजगारिका लागी अन्यत्र मुलुक गईसकेको र कतिपयको सम्पर्क नम्बर परिबर्तन भएकाले एम्नेष्टी र आफुहरु बिचको सम्पर्कमा हुन नसकेको बताउनुहुन्छ । त्यही कारणले अहिले निवेदन परेका ३३ जना श्रमिकको मात्र बाँकी तलब आएको हो ।’

तलब पाउन बाँकी श्रमिकलाई निवेदन दिन अनुरोध

                         मर्करी मीना कम्पनीबाट तलब पाउन बाँकी रहेका सबै श्रमिकलाई वैदेशिक रोजगार विभाग, कतारमा रहेको नेपाली दूतावास र एम्नेष्टी इन्टरनेशनल नेपालले आफूले मर्करी मीनामा काम गरेको र पाउन बाँकी रहेको तलबको प्रमाण खुल्ने कागजातसहित वैदेशिक रोजगार विभागको कार्यालयमा निवेदन दिन विभागले अनुरोध गरेको छ । अहिलेसम्म कपिलबस्तुका सकिल अहमद मुसमानले मात्र दूतावासमा गएर आफ्नो बाँकी रकमका लागि पहल गरिदिन भन्दै दूतावासलाई निवेदन दिनुभएको छ । बाँकी कसैको पनि निवेदन नपरेको भट्टराईको भनाई छ ।

प्रकाशित : १५ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६