पर्यटन

लुम्विनी विकास गूरु योजनाको कुन काममा कति खर्च ? अव कति काम वाँकी ?



लुम्विनी २६ फागुन । लुम्बिनी गुरूयोजनाको २० प्रतिशत काम पुरा हुन वाँकी छ जसकालागि ६ अर्ब रकम अपुग भएको छ । लुम्विनी परिसर भित्र रहेको बिहार क्षेत्रमा अझै २२ करोड लगानी थप गरिने भएको छ । अहिलेसम्म बिहार क्षेत्रमा एक अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँ खर्च भएकोमा थप २२ करोड लगानी हुने भएको हो । लुम्बिनीको विकासमा सबैभन्दा बढी रकम बिहार निर्माणमा खर्च भएको हो । लुम्बिनीमा १२ वटा बिहार नेपालले निर्माण गरेको छ । सबैभन्दा बढी आकर्षक मानिने चाइना र जर्मनी बिहार निर्माणका लागि ती मुलुकले ५२ करोड ८० लाख लगानी गरेका छन् ।

            यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तर्राष्ट्रिय संस्था रेयुकाईले ३० करोड ८० लाखको लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यो क्षेत्रमा अझै दुई अर्ब ३५ करोड ५२ लाखको लागतमा विभिन्न भौतिक संरचनाहरू निर्माण हुनेछन् । लुम्बिनीको सबैभन्दा आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ३८ करोड ८१ लाख लगानी भएको छ । पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खननका काम गर्न ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

          यो क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७ लाख लगानी भएको छ । मायादेवी मन्दिर निर्माणका लागि सात करोड लगानी भएको छ । लुम्बिनीको मेरूदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा २९ करोड ७३ लाख लगानी गरिएको छ । यो क्षेत्रमा नहर निर्माणमा मात्रै २४ करोड खर्च भएको थियो । यहाँ गुरूयोजना अनुसार बाँकी नहर निर्माण, नदी डाइभर्सन, सांकेतिक पेभेलियन, विद्युतीय व्यवस्थापन र पानी ट्यांकी निर्माणका लागि दुई अर्ब ५२ करोड ८६ लाख थप रकम लाग्ने अनुमान छ ।

      अहिले गुरूयोजनाका महत्वपूर्ण केही संरचनाको निर्माण कार्य भैरहेको योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईले जानकारी दिनुभयो ।  आगामी दुई वर्षभित्र गुरूयोजनाको काम पूरा हुने लुम्बिनी विकास कोषले दाबी गर्दै आएको छ । गुरूयोजना अनुसार अब बाँकी रहेको २० प्रतिशत काम पूरा गर्न करिब छ अर्ब रूपैयाँ लाग्ने योजना प्रमुख भट्टराईले बताउनुभयो ।

          समयमै लुम्बिनी गुरुयोजना पूरा नहुनुको मुख्य कारण राजनीतिक हस्तक्षेप नै मुख्य रहेको लुम्बिनीबारे अनुसन्धानकर्ता एवं संस्कृतिविद् प्रा. डा. गितु गिरीको भनाइ छ । “विगतका दिनहरुमा राजनीतिक भागबन्डामा पदाधिकारी नियुक्ति भए पनि अहिलेको जस्तो टकराव थिएन”, गिरीले भन्नुभयो, “तर अहिले त पदाधिकारी र कर्मचारीबीच तथा पदाधिकारी–पदाधिकारीबीच पनि तालमेल छैन । जसले गर्दा लुम्बिनीको विकासमा समस्या देखिएको छ ।”  अहिले स्थानीय सरकार र कोषको सहकार्यले अब चाँडै गुरुयोजना पूरा हुने लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहनसिंह चौधरीको भनाइ छ ।

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६