अन्तर्राष्ट्रिय

नौ लाख मूल्यको अवैध कपडा बरामद



परासी, ५ चैत  ।  सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट करिब रु नौ लाखको अवैध लत्ताकपडा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । रातीको समयमा अवैधरूपमा कपडा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा भन्सारबाट खटिएको टोलीले रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट उक्त कपडा बरामद गरिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले राससलाई जानकारी दिनुभयो । 

        “रामग्राम–७ उजैनी, रामग्राम–४ जीतपुर, पाल्ही क्याम्पस सडकलगायतका स्थानबाट एकैपटक उक्त कपडा बरामद गरिएको छ”, उहाँले भन्नुभयो, “म आफँै पनि खटिएर ठूलो मात्राको उक्त सामान बरामद गर्न सफल भइयो, कपडा र तस्करले प्रयोग गरेका दुई मोटरसाइकल पनि बरामद गरिएको छ, तस्करी नियन्त्रणका लागि हामी निरन्तर लागिरहेका छौँ ।”

        कपडा र मोटरसाइकल बरामद भए पनि तस्करहरू भने भाग्न सफल भएको भन्सार कार्यालयले जनाएको छ । यहाँबाट भारतबाट लत्ताकपडा, जुत्ताचप्पल, खाद्यान्न बढी मात्रामा तस्करी हुने गरेको छ भने कालो मरिच, मटर, केराउ, सुपारीलगायतको चोरी निकासी बढ्दो छ । जिल्लाको भुजहवा र विष्णुपुरा छोटी भन्सारबाट बढी मात्रामा चोरी निकासी पैठारी हुने गरेको महेशपुर भन्सारले जनाएको छ । महेशपुर मूल भन्सारको पश्चिमतर्फ रहेको भारतको खुला सिमानासँग जोडिएका नेपालको गोपालपुर, मुडेरा, गेरमी, विष्णुपुरा, रगरगञ्ज, सनई पडरी हुँदै सदरमुकाम परासीसम्मको बाटो तस्करले बढी प्रयोग गर्ने गरेको बताइन्छ ।

         यसैगरी महेशपुर भन्सारकै पूर्वतर्फ रहेको भारतको खुला सीमासँग जोडिएको नेपालको रमपुरवा, भुजहवा, हर्सपुरा, बसहिया, गुठीप्रसौनी, बलीनगर, रतनगञ्ज, सुस्ता, त्रिवेणीसम्मबाट पूर्वपश्चिम राजमार्गअन्तर्गतको बर्दघाट, भूमही, चिसापानी, भूताहा, बासालगायतका स्थानमा ल्याउने र यस क्षेत्रमा चल्ने सवारी प्रयोग गरी बुटवल, नारायणगढलगायतका शहरमा तस्करहरूले मालवस्तु पठाउने गरेको स्थानीयवासी बताउँछन् ।

 चोरी निकासी पैठारी नियन्त्रणका लागि सुराकी परिचालन, एकल गस्ती, संयुक्त गस्ती, सम्बन्धित क्षेत्रका छोटी भन्सारको सक्रियता, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय एवं सहकार्य गर्दै आएको भन्सार प्रमुख शर्माले बताउनुभयो ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६