सुदूरपश्चिम

सुरक्षा अपनाउँदै मोहना–राजघाट पुल निर्माण शुरु



कैलाली १० बैशाख ।  कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना–राजघाट पुलको निर्माण कार्य शुरु भएको छ । कामदारको सुरक्षालाई ध्यानमा राख्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएका योजनाको काम सञ्चालनमा ल्याउन सङ्घीय तथा प्रदेश सरकारले निर्णय गरेपछि सो काम शुरु भएको हो । कैलाली प्रशासनबाट मोहनापुल–अत्तरिया छ लेन सडक, कैलालीको धनगढी र कञ्चनपुरको रैकवारविचवा जोड्ने पुल आयोजनालाई अनुमति दिइसकेपछि सो काम शुरु भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो । सुरक्षाका मापदण्ड अपनाएर दुई आयोजनाका काम अघि बढिसकेको बताउँदै उहाँले अहिले प्रशासनमा अन्य पाँच आयोजनाले अनुमतिका लागि निवेदन पेश गरेको जानकारी दिनुभयो । उहाँले ती दुई आयोजनालाई सामाजिक दूरी कायम गरेर काम गर्न अनुमति दिएको बताउनुभयो । “हामीले अनुगमन गर्छौँ, अनुगमनका क्रममा त्यो पाइएन भने सो काम रोक्छौँ ।”, उहाँले भन्नुभयो ।

            सरकारले महत्वपूर्ण योजना सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामलाई निरन्तरता दिन मजदुरको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काम गर्ने मजुदरलाई बाहिर जान नदिएको र बाहिरका कसैलाई संलग्न नगराइ कोरोना सङ्क्रमणबाट सुरक्षित राखेर काम सञ्चालन गरिएको उहाँको भनाइ छ । आयोजना सञ्चालनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड बनाएको जनाइएको छ । योजनाको काममा कुनै पनि बाधा–अवरोध भएमा प्रशासनले योजनाको अवस्था, भौतिक प्रगतिलगायतको अवस्थाका आधारमा सञ्चालनको अनुमति दिइरहेको प्रजिअ बोहराको भनाइ छ । सम्झौताअनुसार तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने सो पुल ठेकेदारको लापरवाहीका कारण निर्माणको काम अलपत्र परेको थियो । कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा काम शुरु भएको साढे पाँच वर्ष पुग्नलाग्दा पनि पुल निर्माण हुनसकेको छैन । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी विसं २०७१ असारमा एलाइट एड्भेन्चर जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो । विविध कारण देखाएर पटक–पटक सो पुलको म्याद थपिँदै आएको छ ।

              एक सय २० मिटर लामो पुलका लागि तीनमध्ये दुईवटा ‘स्पान’ बन्न बाँकी छ । शुरुमा रु सात करोड ४२ लाखमा निर्माण सम्झौता भएको थियो । सो पुलको निर्माणकार्य ७५ प्रतिशत सम्पन्न भइसकेको छ भने अझै करिब २५ प्रतिशत काम बाँकी रहेको निर्माण कम्पनीका इञ्जिनीयर दिनेश बटलाले जानकारी दिनुभयो ।पुल नहुँदा नदी तर्नका लागि यात्रुले सास्ती खेप्दै आएका छन् । वर्षायाममा नदीमा डुङ्गा र हिउँदमा काठेपुलबाट स्थानीय बासिन्दाले नदी तर्नुपर्ने बाध्यता छ । दुई जिल्लाको सीमामा बग्ने मोहना नदीमाथि पुल नहुँदा त्यहाँका स्थानीय बासिन्दा दूध, तरकारी बेच्न र उपभोग्य सामान किन्न, बैंकिङ कारोवार, रोजगारी तथा औषधि उपचारलगायत कामका लागि दैनिक ३००÷४०० जनाभन्दा बढी धनगढी बजार पुग्ने गरेको स्थानीय कमल चौधरीले बताउनुभयो । 

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६