बजार सौन्दर्यीकरणदेखि पार्क, सडक बत्ती र पर्यटकीय सुविधासम्मका योजना नगरपालिकाको प्राथमिकतामा
कपिलवस्तु । ऐतिहासिक सम्पदाको पहिचानलाई आर्थिक गतिविधि र पर्यटनसँग जोड्ने लक्ष्यसहित कपिलवस्तु नगरपालिकाले पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। प्राचीन कपिलवस्तुको ऐतिहासिक विरासत बोकेको तिलौराकोटलाई केन्द्रमा राखेर तौलिहवा बजारदेखि रामघाटसम्मका विभिन्न क्षेत्रमा पूर्वाधार निर्माण तथा सौन्दर्यीकरणका योजना अघि सारिएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा पर्यटन, धार्मिक तथा सांस्कृतिक पूर्वाधार र सहरी विकासका विभिन्न योजनाका लागि कुल ७ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ। योजनामार्फत ऐतिहासिक स्थलको आकर्षण बढाउने, पर्यटकका लागि आवश्यक सुविधा विस्तार गर्ने र नगर क्षेत्रको समग्र स्वरूप परिवर्तन गर्ने लक्ष्य राखिएको छ।
नगरपालिकाको योजनामा सबैभन्दा बढी प्राथमिकता तिलौराकोट र त्यस आसपासका पर्यटकीय क्षेत्रलाई दिइएको देखिन्छ। भिक्षु चोकदेखि ऐतिहासिक तिलौराकोट दरबारलगायत पुरातात्त्विक स्थलसम्म सडक बत्ती जडानका लागि २ करोड रुपैयाँ छुट्याइएको छ। यसले पर्यटकीय क्षेत्रमा रात्रिकालीन आवागमन र सुरक्षालाई सहज बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, तौलिहवा बजारदेखि तिलौराकोट दरबारसम्म बेबी बुद्धसहित सौन्दर्यीकरण गर्न १ करोड रुपैयाँ र जमुवार पुलनजिक बेबी बुद्धसहितको पार्क निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। डंगरी पोखरीको मर्मत तथा सौन्दर्यीकरणमा ८० लाख रुपैयाँ खर्च गर्ने योजना छ।
पर्यटक तथा स्थानीय नागरिकलाई आधारभूत सुविधा उपलब्ध गराउने उद्देश्यले तौलिहवा बजार र पर्यटकीय स्थलहरूमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माणका लागि १ करोड रुपैयाँ छुट्याइएको छ। चपरतल्लामा पार्क तथा छठघाट निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख सुदीप पौडेलले कपिलवस्तुका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको पहिचानलाई स्थापित गर्दै पर्यटनमैत्री पूर्वाधार विकास गर्ने उद्देश्यले योजनाहरू अघि बढाइएको बताउनुभयो। तिलौराकोटलाई केन्द्रमा राखेर आसपासका क्षेत्रको सौन्दर्यीकरण, पार्क निर्माण, सडक बत्ती र पर्यटकीय सुविधाको विस्तारलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले योजनाहरूको प्रकृति, प्राविधिक पक्ष र आवश्यक प्रक्रियालाई ध्यानमा राखेर व्यवस्थित तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी भइरहेको बताउनुभयो।
योजना शाखा प्रमुख राजेशकुमार शैनीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको आवश्यकता र सम्भावनाका आधारमा योजना छनोट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्राविधिक तयारी पूरा गरी कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाइनेछ।
पर्यटनबाहेक खेलकुद तथा सार्वजनिक पूर्वाधारलाई पनि बजेटमा समेटिएको छ। बसपार्क मर्मतसम्भारका लागि १० लाख, जगदीशपुरमा कभर्ड हल निर्माणका लागि १० लाख र बुद्धपद्म खेलमैदानमा जाली तथा गेट निर्माणका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
धार्मिक तथा सांस्कृतिक पूर्वाधारतर्फ रामघाटमा राममूर्ति निर्माणका लागि १० लाख र दाहसंस्कारका लागि चेम्बर निर्माण गर्न ३० लाख रुपैयाँ छुट्याइएको छ। सडक पूर्वाधार विकासका लागि ५० लाख तथा सडक बत्ती मर्मत र थप जडानका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ।
कपिलवस्तु ऐतिहासिक, धार्मिक र पुरातात्त्विक दृष्टिले महत्वपूर्ण क्षेत्र भए पनि पर्यटकीय सम्भावनालाई अपेक्षित रूपमा आर्थिक गतिविधिसँग जोड्न अझै चुनौती छ। यस्तो अवस्थामा तिलौराकोटलाई केन्द्रमा राखेर बजार, सडक, पार्क र सार्वजनिक सुविधाको विकास गर्ने नगरपालिकाको योजनाले पर्यटन क्षेत्रको सम्भावना विस्तार गर्न सक्ने देखिन्छ।
तर बजेट विनियोजनसँगै योजनाको समयमै कार्यान्वयन, निर्माणको गुणस्तर र दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन सके मात्रै कपिलवस्तुको ऐतिहासिक पहिचानलाई पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोड्ने लक्ष्य सार्थक बन्नेछ।









प्रतिक्रिया