कृषि

हावाहुरीले सुन्तला झारेपछि किसान चिन्तित



म्याग्दी, मंसिर १० –

टिप्ने बेला भएको सुन्तलाको दाना हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, ३ र ४ नम्बर वडामा पर्ने भुरुङ्ग–तातोपानी, दाना र नारच्याङका किसान चिन्तित भएका छन् ।

भुरुङ्ग–तातोपानीको चिसापानी, दाना, फगाम, घराप, गाडपार र ठाडास्वाँराका बगैचामा मंगलबारको हावाहुरीले सुन्तला झारेर भुईंभरी बनाएपछि किसानको वर्षभरको मेहनत खेर गएको छ ।

फगामका कृषक दुर्गादत्त सुवेदीले आफ्नो टोलबाट गत वर्ष रु २५ लाखको सुन्तला बिक्री भएकोमा हावाहुरीले झारेर रु एक लाखको पनि बिक्री गर्न नसकिने बनाएको दुखेसो गर्नुभ्यो । “यसपाली दाना राम्रो लागेकाले उत्पादन र आम्दानी बढ्ने अनुमान गर्दै उत्साहित भएका थियौ,” उहाँले भन्नुभयो “हावाहुरीले बोटबाट दाना झार्नुका साथै हाँगा चुडाएको छ । भुईंमा झरेका दाना सबै फुटेका छन् ।”

अन्नपूर्ण गाउँपालिकाका कृषि शाखाका अधिकृत योजना अधिकारीले हावाहुरीले सुन्तला खेतीमा पु¥याएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । गत वर्ष करिब रु चार करोड मूल्य बराबरको सुन्तला बिक्री भएको अन्नपूर्ण गाउँपालिकामा यसपाली हावाहुरीले तीन वटा वडामा पुगेको क्षतिका कारण उत्पादन घट्ने निश्चित छ ।

जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम चार दशमलव एक मिटरको गतिमा हावा मापन गरिएको थियो ।

उक्त हावाहुरीले अन्नपूर्ण गाउँपालिकाको ३ नम्बर वडामा पर्ने काभ्रे, दाना, फगाममा करिब २० वटा घरको छाना उडाएको वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो । “छाना उडाएका गोठको संख्या गनेर साध्य छैन,” उहाँले भन्नुभयो “पक्की भवन रहेको दानास्थित ज्ञानप्रकाश माविको झ्याल र स्वास्थ्य चौकीको भवनको छाना पनि उडाएको छ ।”

भालेबास स्थित कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनुका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

भालेबासमा रहेको धवलागिरी आधारभूत विद्यालय, सुरक्षा बेसक्यापका साथै सुकबहादुर रोका, रनबहादुर रोका, देउबहादुर खड्का, रविन्द्र खड्का तुलाराम बुढा, कुमार खड्का, नारच्याङमा महलबहादुर गर्बुजाको घरको छाना उडाएको छ । अन्नपूर्ण आधार शिविर र भुसकेट मेलामा पर्यटकको बसोबासका लागि राखिएका १२ वटा टेन्ट उडाएको छ ।

भुरुङ्ग–तातोपानीका वडाअध्यक्ष ओमप्रकाश फगामीले हावाहुरीले रुख ढलाएपछि अवरुद्ध बनाएको सडक र विद्युत सेवा मर्मत गरि बुधबार साँझदेखि सञ्चालनमा ल्याएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जनप्रतिनिधि, कर्मचारी र प्राविधिकको टोली परिचालन गरेर क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो ।

घरबासबिहिनलाई बसोबास, पुननिर्माण र कृषकलाई राहतका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गर्ने अध्यक्ष पुनले बताउनुभयो । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति व्यहोरेको अन्नपूर्ण गाउँपालिकालाई हावाहुरीले पुनःदुख दिएको छ ।

प्रकाशित : ११ मंसिर २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६