ब्रेकिंग न्युज

९६ प्रतिशतभन्दा बढी योजना कार्यान्वयन, चालु आवमा ठूला पूर्वाधारमा केन्द्रित विजयनगर



सानादेखि ठूला योजना सम्म उच्च कार्यान्वयन , चालु आर्थिक वर्षमा भने ५० लाख माथिको एउटै योजना मात्रै स्वीकृत

कपिलवस्तु, १० मंसिर

विजयनगर गाउँपालिकाले गत आर्थिक वर्षमा स्वीकृत योजना तथा कार्यक्रम मध्ये ९६ प्रतिशतभन्दा बढी कार्यान्वयन गरेको छ । गाउँकार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको योजना सम्बन्धी तथ्यांकअनुसार कुल १५९ वटा योजना तथा कार्यक्रम मध्ये १५३ वटा सम्पन्न भएका छन् । यो कुल योजनाको ९६.२२ प्रतिशत हो ।
योजनाको लागतका आधारमा विश्लेषण गर्दा गाउँपालिकामा साना तथा कम लागतका योजनाको संख्या उल्लेख्य रहेको देखिन्छ । पाँच लाख रुपैयाँ वा सोभन्दा कम लागतका ९५ वटा योजनामध्ये ९२ वटा कार्यान्वयन भएका छन् । यस समूहको कार्यान्वयन दर करिब ९६.८४ प्रतिशत रहेको छ । त्यस्तै, १० लाख रुपैयाँसम्म लागत भएका २० वटै योजना सम्पन्न भएका छन् । यसले कम लागतका योजनाको कार्यान्वयनमा गाउँपालिकाको प्रगति शतप्रतिशत रहेको देखाउँछ ।


मध्यम तथा ठूला योजनाको कार्यान्वयन अवस्था पनि तुलनात्मक रूपमा उच्च देखिएको छ । १० लाखभन्दा बढीदेखि ५० लाख रुपैयाँसम्म लागत भएका ३१ वटा योजनामध्ये २९ वटा कार्यान्वयन भएका छन् । त्यसैगरी, ५० लाख रुपैयाँभन्दा बढी लागतका १३ वटा ठूला योजनामध्ये १२ वटा सम्पन्न भएका छन् । यस समूहको कार्यान्वयन दर करिब ९२.३१ प्रतिशत रहेको छ ।
समग्र तथ्यांकले गाउँपालिकाले साना, मझौला र ठूला तीनै प्रकारका योजनाको कार्यान्वयनमा उच्च प्रगति हासिल गरेको देखाउँछ । विशेषगरी १० लाख रुपैयाँसम्मका सबै योजना सम्पन्न हुनु र ठूला योजनाको कार्यान्वयन दरसमेत ९२ प्रतिशतभन्दा माथि रहनुले विकास निर्माणका काममा योजनागत प्रगति देखिएको छ । यद्यपि, स्वीकृत योजना सम्पन्न हुनुलाई मात्रै विकासको पूर्ण उपलब्धि मान्न सकिँदैन । योजनाको गुणस्तर, दिगोपना, लागत अनुसारको प्रतिफल र नागरिकले प्राप्त गरेको लाभ समेत मूल्यांकनको आधार बन्न आवश्यक छ ।
अर्कोतर्फ, चालु आर्थिक वर्षका लागि सार्वजनिक गरिएको योजनाको विवरणले भने फरक प्राथमिकता देखाएको छ । गत आर्थिक वर्षमा १५९ वटा योजना तथा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले चालु आवका लागि ५० लाख रुपैयाँभन्दा बढी लागतको ‘थरौली भाठा स्टील ट्रस’ नामक एउटा मात्र योजना पारित गरेको छ । विवरणमा पाँच लाख, १० लाख तथा ५० लाख रुपैयाँसम्मका साना र मझौला योजनाहरू समावेश देखिएका छैनन् ।
गत आवमा योजनाको संख्या र कार्यान्वयनको अवस्था हेर्दा गाउँपालिकाले साना तथा मझौला पूर्वाधारलाई समेत प्राथमिकतामा राखेको देखिन्छ । तर चालु आवमा एउटा मात्र ठूलो योजना स्वीकृत हुनुले विकास बजेटलाई ठूला पूर्वाधारमा केन्द्रित गर्ने योजनागत प्राथमिकता देखाएको छ । यस्तो प्राथमिकताले दीर्घकालीन पूर्वाधार निर्माणमा योगदान पु¥याउन सक्ने भए पनि स्थानीय बस्तीका आवश्यकता, साना पूर्वाधार, मर्मत सम्भार र प्रत्यक्ष नागरिक लाभका योजनालाई कसरी सम्बोधन गरिन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
विकासको प्रभावकारिता योजनाको संख्या वा बजेटको आकारले मात्र निर्धारण नगर्ने पालिका अध्यक्ष गोपाल बहादुर थापाको भनाई छ । अध्यक्ष थापाले स्थानीय आवश्यकताका आधारमा योजनाको छनोट, समयमै कार्यान्वयन, निर्माणको गुणस्तर र सम्पन्न योजनाबाट नागरिकले पाउने प्रत्यक्ष लाभले विकासको वास्तविक उपलब्धि मापन गर्ने बताउनु भयो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमलाल विश्वकर्माले विजयनगर गाउँपालिकाका लागि गत आवको उच्च कार्यान्वयन दरलाई कायम राख्दै चालु आवका योजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्नुका साथै स्थानीय आवश्यकतासँग जोडिएका आधारभूत विकासका कामलाई समेत सन्तुलित रूपमा अघि बढाउनु महत्वपूर्ण विषय भएको बताउनु भयो ।

प्रकाशित : ११ मंसिर २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६