अर्थ-वाणिज्य

किसानको बारीबाटै तरकारी किनबेच



रामपुर, ११ बैशाख । लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएसँगै पाल्पाका गाउँगाउँमा कृषकको घर तथा खेतबारीमा तरकारी खरीद गर्न जाने क्रम बढ्दो छ । रामपुर नगरपालिका वडा नं ७ बहखोलाका सुकदेव न्यौपानेलाई तरकारी टिपेर बेच्न भ्याइनभ्याई छ । बन्दाबन्दीको समय लम्बिँदै जान थालेपछि उहाँको घरमा तरकारी खरीद गर्न व्यापारी तथा ग्राहक पुग्ने गरेका छन् ।

        रामपुरका बेझाड र  किसानबारी बजारदेखि ग्राहक तथा व्यापारी घरमै पुगेर तरकारी खरीद गर्न थालेपछि व्यवसायीमा उत्साह बढेको न्यौपानेले बताउनुभयो । “पहिला बजारमा लिएर जानुपथ्र्यो, अहिले घरमै आएर खरीद गरी लैजाने गरेका छन्, तरकारी बेच्न भ्याईनभ्याई छ”, उहाँले भन्नुभयो ।

        उहाँले करीब पाँच रोपनी जग्गामा काँक्रा, लौका, घिँरौला र करेला जातका तरकारी लगाउनुभएको छ । उहाँ लकडाउनयता अहिलेसम्म खर्च कटाएर रु एक लाख ५० हजार बराबरको कृषिजन्य उत्पादन बिक्री गरिएको बताउनुहुन्छ । कोरोना भाइरस संक्रमणबाट जोगिन घरमा तरकारी लिन आउनेलाई दूरी कायम गरेर मात्र कृषकले बिक्री गर्ने गरेका छन् । सोही ठाउँकै तुलसी न्यौपानेलाई पनि तरकारी लगाउन र  बेच्न भ्याइनभ्याई छ । बिहानको समय तरकारी बिक्री गर्ने तथा बाँकी समय बिरुवा लगाउने र  गोडमेल गर्दैमा बित्ने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

         लकडाउनले आफूलाई कृषि कार्यमा व्यस्त बनाएको अर्का कृषक रामपुर –४ बस्ने दिलबहादुर थापाले बताउनुभयो । “पहिला घरमा एकछिन काम सकाएर साथीभाइसँग गफ गर्ने, विभिन्न ठाउँमा घुमफिर गर्ने गरिन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले घरबाट बाहिर जान नभएपछि तरकारी लगाउने, टिप्ने बेच्ने कार्य भइरहेको छ ।” उहाँले करीब दश रोपनी जग्गामा करेला, घिरौँला, लौका र  बोडी जातका तरकारी लगाउनुभएको छ । उहाँले लकडाउनकै बेला रु एक लाखभन्दा बढीको तरकारी बिक्री गरिसक्नुभयो । जिल्लामा दुई हजार १२६ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ । जिल्लाका सबैजसो स्थानमा तरकारी खेती गरिए पनि मदनपोखरा, हार्थोक, पोखराथोक र  मुझुङ्ग क्षेत्र तरकारीको मुख्य क्षेत्र मानिन्छन् । लकडाउनका कारण धेरैका भान्सामा कम तरकारी पाक्ने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।(रासस)

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६