अन्तर्राष्ट्रिय

मलेसिया जाने श्रमिक ठगी प्रकरणमा ४ दिनको म्यादथप :तत्कालिन २ मन्त्री र सचिव पक्राउ, मुख्यसचिव अर्याल फरार



बुटवल ४ मंसिर
पाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रका आधारमा पक्राउ गरेका श्रम मन्त्रालयका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई हिरासतमा राख्न चार दिन म्याद थप गरेर  अनुसन्धान जारी राखेकोछ । बिहीबार जिल्ला अदालत, काठमाडौंले उनीहरूलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनीहरूलाई बुधबार राति पक्राउ गरिएको थियो।  पक्राउ पर्नेमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, सहसचिव राजिव पोखरेल र उपसचिव निर्मला गुरुङ रहेका छन्। उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौता विपरित गैरकानुनी रुपमा ठगी गरी संकलन गरिएको रकममध्ये अमेरिकी डलर तीन लाख ७० हजार ४३९ र बेलायती मुद्रा ३७ लाख १७ हजार गरी १ अर्ब ६९ करोड दुई लाख २४ हजार २७ रुपैयाँ अपचलन गरेको आरोप छ।
प्रहरीले पक्राउ गर्न लागेको सूचना पाएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल बुधबार बिहानै दिल्ली उडेको खुलेको छ।  मलेसिया जाने श्रमिकलाई मेडिकल व्यवसायीसँग मिलेर ठगी गरेको आरोपमा उनलाई पनि पक्राउ गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयारी गरेको थियो। त्यसका लागि बुधबार दिउँसो सीआईबीले अदालतबाट अनुमति लिँदै थियो। तर सीआईबीले पक्राउ गर्न लागेको सूचना उनलाई पुगेको र त्यसलगत्तै दिल्ली उडेको खुलेको छ।
मन्त्रालयबाट सूचना चुहिँदा उनी भागेको प्रहरीको दाबी छ। प्रहरीले यससँग सम्बन्धित कागजात माग गर्दै श्रम मन्त्रालयमा पत्राचार गरेको थियो। सीआईबीले माग गरेको विवरणमा अर्याल श्रम मन्त्रालयको सचिव हुँदाका विषय पनि थिए।  त्यही क्रममा मन्त्रालयबाट सूचना पाएको र उनी भागेको बुझाइ प्रहरीको छ। बुधबार दिउँसो अदालतले उनलाई पनि पक्राउ गर्न अनुमति दिइसकेको छ।
मन्त्रालयको सचिव हुँदा गरेको कसुरका आधारमा अर्याललाई पनि पक्राउ गर्न लागिएको हो। मलेसिया जाने श्रमिकलाई ठगी गर्न मन्त्रालयमा रहँदा मिलेमतो गरेको सीआईबीको आरोप छ। बिहीबार जिल्ला अदालत, काठमाडौँले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो पटक चार दिनको म्याद दिएको छ। यो म्याद शनिबार सकिनेछ। त्यसपछि थप समय हिरासतमा राख्न परे सीआईबीले सोमबार पुनः म्याद थप माग गर्नेछ।
मेडिकल व्यवसायीले मलेसिया जाने करिब सात लाख श्रमिकबाट अतिरिक्त शुल्क लिएर ठगी गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सीआईबीले यसअघि नै स्वास्थ्य व्यवसायी कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको थियो। गत असोज २९ गते खड्कासँगै मेडिकल व्यवसायीहरू भक्तपुरको चाँगुनारायणका रवीन्द्र केसी, गोरखाका प्रविण तिवारी र सर्लाहीका रामपुकार तिवारी पक्राउ परेका थिए। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न २९ वटा मेडिकलले सिन्डिकेट खडा गरेका थिए।
मलेसियासँग मिलेर खडा गरिएको सिन्डिकेट भत्काउने गरी तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले २०७५ सालमै सम्झौता गरेका थिए। तर विष्ट श्रममन्त्रीबाट हटेपछि स्वास्थ्य परीक्षणमा बढी रकम लिँदै आइएको छ। मलेसिया रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्दा निर्धारित शुल्कभन्दा एक सय रिंगिट (करिब तीन हजार ६ सय रुपैयाँ) बढि लिने गरिएको छ। यो रकम म्याक्रोटेक प्रालिको नाममा बायो मेडिकल सर्भिस चार्ज उल्लेख गरेर लिने गरिएको थियो। यसरी लिएको रकम मलेसियाको कम्पनीलाई पठाउने गरेको र त्यसका लागि पूर्वमन्त्री र मन्त्रालयका कर्मचारीले निर्णय गराएको आरोप छ।
नेपाल सरकारले नै गैरकानुनी भनेको रकम उठाउन र मलेसिया पठाउन सहजीकरण गरेको आरोपमा तत्कालीन मन्त्री, सचिव र अन्य कर्मचारी पनि अनुसन्धानमा तानिएका हुन्।  तत्कालीन श्रमसचिव अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए। त्यसअघि उनी गृहसचिवका रुपमा कार्यरत थिए। गृहसचिव हुँदै मुख्यसचिव बनेका अर्याल १५ महिनापछि २०८२ मंसिरमा उमेरहदका कारण अनिवार्य अवकास भएका थिए।

प्रकाशित : ५ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६