अर्थ-वाणिज्य

लकडाउनको मारमा किसान: ५० प्रतिशत मात्र दूध बिक्री, लाखौंको आम्दानी गुम्दै



कपिलवस्तु, १७ वैशाख  ।  कपिलवस्तु जिल्लामा मात्र दैनिक ६० हजार बढी दुध विक्रीबाट ३६ लाख  आम्दानी गर्ने किसान लकडाउनका कारण भने मर्कामा परेका छन् । कपिलवस्तु जिल्लामा एक सय पच्चिस बढी कृषि फर्म, एक सय पचासी बढी ब्यवसायिक ठूला किसान र पाँच सय बढी साना किसानबाट दैनिक ६० हजार लिटर बढी दुध उत्पादन हुने गरेको र सरदरमा प्रति लिटर ६० रुपैया किसानले पाउदा पनि दैनिक ३६ लाख आम्दानी लकडाउन पूर्व हुने गरेको राष्ट्रिय दुग्ध विकास वोर्डको केन्द्रिय सदस्य केशव कुवँरले बताउनु भयो । वोर्डका सदस्य तथा कपिलवस्तुको लामो इतिहास बोकेको सहकारी बाणगंगा दुग्ध उत्पादन सहकारी संस्था लि.का ब्यवस्थापक केशव कुवँरले उत्पादित दुध जिल्लाका चार दुग्ध सहकारी, केही बहुउद्धेश्य सहकारी र ३५ वटा दुग्ध चिस्यान केन्द्र मार्फत संकलन हुने गरेको जानकारी दिनु भयो ।

             स्थानिय चिस्यान केन्द्रमा संकलित दुध दुग्ध विकास संस्थानको आयोजना ईकाई कार्यालय बुटवल, महालक्ष्मी डेरी उद्योग इमलिया, कपिलवस्तु, लुम्बिनी डेरी उद्योग बुटवल र पर्रोहवा डेरी उद्योग मुर्गीयाले गरी ४५ हजार लिटर दुध लैजाने र बाँकी १५ हजार दुध दुध स्थानिय बजार क्षेत्र, र मिष्ठानहरु र होटलहरुमा खपत हुने गरेको वोर्डको केन्द्रिय सदस्य केशव कुवँरले बताउनु भयो । लकडाउन पूर्व दुधप्रति किसानहरु उत्साहित भएको अवस्था थियो र दुध संकलन गरेको दुध विक्रि गर्न जति सहज थियो लकडाउनका कारण उत्पादन पनि घटेको र विक्रिमा पनि समस्या आएको समावेशी दुग्ध डेरी संकलन केन्द्र, बैदौलीका संचालक  प्रकाश भुसालले बताउनु भयो । दुधको बाक्लोपनाका आधारमा गाईको भन्दा भैसीको दुधको मूल्य बढी आउने गरेको र रेसियोमा प्रति लिटर करिव ६० रुपैया आउने गरेको कोइली दुग्ध चिस्यान केन्द्र, कोईली बनगाईका ब्यवस्थापक हेमु खनालले जानकारी दिनु भयो ।

            कपिलवस्तु जिल्लामा विशेष गरी चन्द्रौटा, नयाँ बस्ती,  इमलिया, बुडढी, राजपुर, बनगाई, वोडगाउँ, कोपवा, बैदौली, भलवाड, गजेहडा, बैरिया, ओदारी, पकडी, लवनी, तौलिहवा, महाराजगन्ज, बहादुरगन्ज, कृष्णनगर लगायतका स्थानबाट दैनिक दुध संकलन हुने गरेको छ । यो तथ्यांक भने लकडाउन पूर्वको अवस्था हो । 

लकडानउको प्रभाव :पचास प्रतिशत मात्र दुध विक्री    

            दैनिक ३ लाख लिटर दुध विक्रि गर्ने दुग्ध विकास संस्थानले हाल लकडाउनका कारण दैनिक ९० हजार लिटर मात्र दुध विक्रि गर्ने गरेको दुग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बताउनु भयो । संकलित दुधबाट संस्थानले  अहिले दुधका परिकारहरु  ध्यू, पनिर, चिज, बटर, छुर्पी जस्ता परिकार तयार पार्ने गरेको अध्यक्ष गिरीले बताउनु भयो । अध्यक्ष गिरीले देशका ठूला शहरहरु काठमाण्डौं, पोखरा, नारायणगढ लगायतका शहरहरुमा आन्तरिक तथा बाहय पर्यटक नहुदा दुध खपतमा चुनौती थपिएको तर्क गर्नु भयो । जसरी दैनिक बजारमा खपत हुने मिठाई, चिया, दही, लगायतका परिकारको माग घटदै जादा  दुधको सपत ६५ प्रतिशत घटेको अध्यक्ष गिरीले बताउनु भयो । 

            अध्यक्ष गिरीले लकडाउनको अवधीमा स्थानिय तह, प्रदेश सरकार र संघ बीचको समन्वयमा किसानलाई प्रति लिटर दुधमा रु २० रुपैया अनुदान दिन सके स्थानिय स्तरमै दुधको खपत हुने तर्क गर्नु भयो । उहाँले दुधलाई राहत प्याकेजमा समेत जोडन सकेमा स्थानिय स्तरमै दुधको खपत हुने तर्क गर्नु भयो । अध्यक्ष गिरीले यस्तो अवस्थामा किसानले खरिद गर्ने दानामा सरकारले अनुदान दिनुपर्र्ने धारणा राख्नु भयो । 

            त्यस्तै कपिलवस्तुमा रहेको महालक्ष्मी डेरी उद्योग, इमलिया, कपिलवस्तुका संचालक थानेश्वर न्यौपानेले कपिलवस्तु जिल्लाबाट आफुहरुले दैनिक २० हजार लिटर दुध संकलन गर्ने गरेकोमा हाल १२ हजार लिटर दुध मात्र संकलन गर्न बाध्य भएको बताउनु भयो । संचालक न्यौपानेले आफुहरुले संकलन गरेको दुध सामान्य अवस्थामा रुपन्देही, पाल्पा, स्याङ्गजा, पोखरा, काठमाण्डौमा पठाउने गरेको भएपनि अहिले बजारमा दुधको माग न्यून भएको तर्क गर्दै उहाँले दैनिक ६ हजार लिटर मात्र दुध खपत हुने गरेको बताउनु भयो । 

            संचालक न्यौपानेले आफुहरुले छुर्पी, लगायतका परिकार उत्पादन गरे पनि दुधको पाउडर उत्पादन आफुहरुकहाँ नहुदा दुधको ठूलो परिमाणमा खपत गर्न नसकिएको नहुने दुखेसो पोख्दै दैनिक तीन हजार लिटर दुध त यत्तिकै फाल्नु परेको बताउनु भयो । उहाँले सरकारसंग बजेट भएपनि आन्तरिक किचलोका कारण आफु जस्ता उद्योगीहरु मरमा परेको बताउनु भयो । उहाँले आफुहरु किसानको बाध्यता देख्दा दुध खरिद गरेको बताउदै आफ्नो बाध्यता बुझ्ने सरकार भने निस्क्रिय रहेको दुखेसो पोख्नु भयो । 

            अर्का उद्योगी लुम्बिनी डेरी उद्योग, बुटवलका संचालक विक्रम रिजालले आफुहरुले सामान्य अवस्थामा २० देखी २५ हजार दुध खरिद गर्ने गरेको बताउदै लकडाउनको अवस्थामा पचास प्रतिशत मात्र दुध खरिद गरिएको बताउनु भयो । संचालक रिजालले आफुहरुले खरिद गरेको दुधको दश प्रतिशत दुध मात्र बजारमा विक्रिी भएको बताउदै बाँकी दुधबाट पाउडर र बटर उत्पादन गरी गोदाम गरेको बताउनु भयो । संचालक रिजालले सरकारले भारतिय पाउडरमा रोक लगाउदा नेपाली दुग्ध उद्योगी, किसानलाई राहत भएको र भुकम्प पछी थोरै राम्रो हुन लागेको बेला लकडाउनले दुग्ध उद्योगी र किसानलाई धेरैनै मारमा  पारेको गुनासो पोख्नु भयो । उहाँले देशै ठप्प भएको र दुधका परिकार खपत नहुदा आर्थिक ब्ययभार बढेको तर्क गर्नु भयो । उहाँले कम्तिमा राज्यले संकटको बेला दुधको प्रशोधनको मात्र जिम्मा लिने अवस्था आएको भए आफुहरुलाई धेरै राहत हुने जिकिर गर्नु भयो ।  

            त्यस्तै दुधका परिकार र दुध संकलन गरी विक्रि कार्यमा सक्रिय विहानी सामाजिक उद्यमी महिला सहकारी, कोपवाकी अध्यक्ष तुल्सी थापाले लकडाउन पूर्व आफुहरुले किसानलाई दुध उत्पादन कार्यमा प्रोत्साहन गरेको बताउदै अहिले आफैले किसानको दुध खरिद गर्न नसक्दा पिडा भएको बताउनु भयो । मेस्डो नेपाल र हेफर इन्टरनेशनल नेपालले प्रवर्धन गरेको विहानी सहकारी आफैले दुध विक्री तथा दही, पनिर, कुल्पी,  लगायतका दुधका परिकार तयार पार्ने र विक्रि गर्दै आएको थियो ।  

            सरकारले छिमेकी मुलुक भारतबाट आयत गर्दै आएको पाउडर दुधलाई नीतिगत रुपमा मन्त्रालयले जव  निरुत्साहित गर्ने निर्णयलाई ब्यवहारमै कार्यान्वयनमा लग्यो त्यसको परिणाम नेपाली दुग्ध किसान र दुग्ध उद्योगीहरु आत्म निर्भर बन्न सक्ने परिस्थती सृजना भयो । बन्द, हडतालमा समेत  सरकारले किसानको दुध खरिद गर्ने विश्वासिलो वातावरण निर्माणका लागि प्रदेश स्तरमा दुध प्रशोधन केन्द्रको स्थापनामा  ढिलाई गर्न नहुने स्थानिय स्तरमा रहेका दुग्ध डेरी उद्योगहरुको सरकारसंग माग देखिन्छ । यस्ता खाले ब्यवहारिक कदम चाल्ने हो भने वर्षेनी खाधान्नका लागि देशबाट बाहिरीने करिब ४ खर्व रकम नेपालमै रहने र सरकारले भन्दै आएको समृद्ध नेपाल, सुखी नेपाली नारालाई ब्यवहारमै ढाल्ने कार्यमा एक इटा थपिने थियो की ? 

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६