अन्ताल्या (टर्किए), २ मङ्सिरः
पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत अन्तरराष्ट्रिय रूपमा हस्तान्तरण हुने कार्बन न्यूनीकरण परिणामको अभिलेख तथा अनुगमन गर्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’को पहिलो संस्करण सार्वजनिक गरिएको छ । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा आज उक्त रजिस्ट्री सार्वजनिक गरिएको हो । आफ्नै रजिस्ट्री नभएका वा त्यसमा पहुँच स्थापित गर्न नसकेका देशलाई लक्षित गरी तयार गरिएको यस प्रणालीले देशहरूबीच हस्तान्तरण हुने हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका परिणाम (आइटिएमओ) को अभिलेख राख्न र अनुगमन गर्न सहयोग गर्नेछ । यस प्रणालीमार्फत सहभागी देशले न्यूनीकरणसम्बन्धी गतिविधि अभिलेख गर्ने, न्यूनीकरण परिणाम जारी गर्ने, त्यसलाई सम्बन्धित सरकारी अनुमतिसँग जोड्ने तथा त्यस्ता परिणामको हस्तान्तरण, प्राप्ति, प्रयोग र खारेजीको विवरण राख्न सक्नेछन् । देशहरूले न्यूनीकरण परिणामलाई एकाइका रूपमा जारी गरी पहिलो अन्तरराष्ट्रिय हस्तान्तरण नहुँदासम्म सुरक्षित राख्न रजिस्ट्रीको थप सेवा पनि लिन सक्नेछन् । पहिलो पटक अन्तरराष्ट्रिय हस्तान्तरण भएपछि त्यस्ता परिणाम अन्तरराष्ट्रिय रूपमा हस्तान्तरण गरिएका न्यूनीकरण परिणाम (आइटिएमओ) का रूपमा अभिलेख हुनेछन् । पेरिस सम्झौताको सर्वोच्च निर्णय गर्ने निकाय (सिएमए) ले व्यवस्था गरेका यी सेवा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सचिवालयले विकास तथा सञ्चालन गरिरहेको छ । प्रारम्भिक चरणमा रजिस्ट्रीमा आबद्ध हुन अनुरोध गर्ने देशलाई चरणबद्ध रूपमा पहुँच उपलब्ध गराइनेछ । यसका लागि सन् २०२७ को सुरुआतमा कार्यशाला आयोजना गरी त्यसपछि तालिम र प्रणाली परीक्षण गरिनेछ । त्यसपछि मात्र देशहरूलाई वास्तविक प्रणालीमा पहुँच दिइने अपेक्षा गरिएको छ । आगामी संस्करणमा राष्ट्रिय रजिस्ट्री तथा पेरिस सम्झौताको ‘क्रेडिटिङ’ संयन्त्रअन्तर्गतको रजिस्ट्रीसँग तथ्याङ्क आदानप्रदान गर्न मिल्ने सुविधा र प्रतिवेदन प्रणालीसमेत थप गरिने जनाइएको छ । रजिस्ट्रीको ‘सफ्टवेयर’ विकास सन् २०२६ जनवरीमा सुरु भएको थियो । यसको प्रारम्भिक सञ्चालनयोग्य संस्करण सन् २०२६ मेमा देशहरूलाई प्रस्तुत गरिएको थियो । देशहरूले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी आफ्नो राष्ट्रिय सम्पर्क निकायमार्फत अन्तरराष्ट्रिय रजिस्ट्रीमा आबद्ध हुन र छुट्टै खण्ड खोल्न अनुरोध गर्न सक्नेछन् । —









प्रतिक्रिया