लुम्बिनी

फेसबुकमा अन्याय भएको पोष्ट गर्दा वडा अध्यक्षको धम्की



बुटवल, २३ बैशाख । बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरस्थित तिलोत्तमा टोलकी सीता आब्जु परियारले राहत वितरणमा अन्याय भएको कुरा सामाजिक सञ्जालमा राख्दा वार्ड अध्यक्षले धम्की दिएको बताउनु भएको छ । आफूले आफ्नो टोलका मजदुर वर्गले राहत नपाएको भन्दै आक्रोश ब्यक्त गरेको र त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका कारण आफूमाथि हप्कीदप्की भएको उहाँले बताउनु भएको हो ।आफूले व्यक्त गरेका भनाई सहितको भिडियो सार्वजनिक भएपछि वडा कार्यालयमा बोलाएर आफूलाई मानसिक यातना दिईएको मानव अधिकारकर्मीहरुलाई उहाँले जानकारी गराउनु भयो । 

            गत बैशाख १४ गते दैनिक ज्यालादारी गर्ने मजदुरले राहत नपाएको भन्दै परियारले सामाजिक संजाल फेसबुक मार्फत वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको नाम नै लिएर आक्रोश पोख्नु भएको थियो ।भिडियोमा किन जनप्रतिनिधिको आलोचना गरेको भन्दै आफूमाथि वडा कार्यालयमा बोलाएर वडा अध्यक्ष क्षेत्री सहितका जनप्रतिनिधिले दुई घण्टासम्म मानसिक यातना दिएर जवरजस्ती कागजमा हस्ताक्षर गर्न लगाएको उहाँको आरोप छ । 

        हस्ताक्षर गर्न लगाईएको कागजमा लेखिएको व्यहोरा समेत आफुलाई नसुनाईएको उहांले गुनासो गर्नुभयो । आफ्नो सन्तानलाई जे पनि हुन सक्ने भन्ने धम्की दिएका कारण मानसिकरुपमा कमजोर भएर आमा सिताले पटक पटक आत्महत्याको प्रयास गरेको छोरी मिनु पाण्डेले बताउनु भयो । यस विषयमा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सितालाई वडा कार्यालयमा बोलाएर सामान्य सोधपुछ गरेको र कुनै धाकधम्की दिने काम नभएको वताउनु भयो । 

        उहाँले आफू र जनप्रतिनिधि माथि गलत आरोप लगाईएकोले त्यस विषयमा वडा कार्यालयमा वोलाएर सामान्य सोधपुछ मात्र गरिएको प्रतिक्रिया दिनुभयो ।घटना सार्वजनिक भएपछि मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोबिन्द खनाल लगायत अधिकारकर्मीको टोलीले आब्जुको घरमा पुगेर घटनाको बारेमा जानकारी लिएको थियो । 

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६