बाँके, २३ बैशाख । नेपालगञ्जमा समुदायस्तरमा फैलिएको कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आजदेखि तीनदिनसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी कोरोना सङ्क्रमित समुदायमा परीक्षणका लागि स्वाब सङ्कलन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण हुनु महामारी पूर्वसङ्केत भएकाले नेपालगञ्जलाई नै निषेधित क्षेत्र घोषणा गरेर शङ्कास्पद समुदायका सबैजनाको कोरोना जाँच गरिँदैछ । दोस्रो चरणबारे थाहा नपाउँदैै नेपालगञ्जमा कोरोना सङ्क्रमण तेस्रो चरणमा प्रवेश गरेको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को प्रोटोकलमा सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको अवस्थालाई दोस्रो चरण भनिन्छ । “नेपालगञ्जमा कोरोना दोस्रो चरणमा प्रवेश भएको कुनै पत्तो नै नपाई समुदायस्तरमा सरेको पाइएकोले तेस्रो चरणको सङ्क्रमण हो”, श्रेष्ठले भन्नुभयो, “कम्युनिटी ट्रान्समिसन महामारीपूर्वको अवस्था हो । त्यसैले अझै बढी सतर्कता अपनाउनुपर्ने र सावधानीका सबै उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता भएको छ ।”
भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले सङ्क्रमितबाट समुदायका अन्य व्यक्तिमा कोरोना फैलिएपछि यहाँ जोखिम बढेकाले सावधानीका सम्पूर्ण उपाय अवलम्बन गरिएको बताउनुभयो । “सङ्क्रमित व्यक्तिबाट समुदायस्तरमा कोरोना फैलिसकेको छ । यो भयावहको अवस्था हो । सो क्षेत्र पूरै शिल गरेर सबै जनाको कोरोना जाँच गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमित ब्यक्तिबाट अन्य व्यक्ति हुँदै समुदायस्तरमा सरिसकेका कारण नेपालगञ्ज कोरोनाको खतरा मोडमा पुगेको छ ।”
नेपालगञ्जमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति गत चैत १० मा भारतबाट फर्किएका थिए । नेपालगञ्ज –८ डिएसपी रोड निवासी उनी यसबीचमा महेन्द्रपार्कस्थित अन्सारियन मस्जिदमा नमाज पढ्न र स्थानीयवासीको घरैमा गएर बालबालिकालाई पढाउन जाने गरेको पाइएको छ । उनीसँग सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्दै जाँदा महेन्द्रपार्क आसपासका ९० जनाको स्वाब गत शनिबार सङ्कलन गरिएको हो ।
नेपालगञ्ज–८ का मुसलमान समुदायका अगुवा समसुद्दीन सिद्धिकीले टोलका सबैजनाको कोरोना जाँच हुनुपर्ने बताउनुभयो । उहाँले जाँचका लागि समन्वय र सहयोग गर्न आफूहरु तयार रहेको जानकारी दिनुभयो ।
सबै सङ्क्रमितको व्यापक रुपमा कन्ट्रयाक ट्रेसिङ गर्ने र ट्रेसिङबाट पहिचान गरिएका सम्भावितको स्वाब परीक्षण गर्न जिल्ला निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खटिने जनशक्तिबाहेक अन्य कसैले घरबाहिर निस्कन पाउने छैन ।”
उहाँले स्वाब नमूना परीक्षणमा पोजेटिभ रिपोर्ट आएकालाई आइसोलेशन अस्पताल लैजाने र रिपोर्ट नेगेटिभ भएकालाई सुरक्षाको उच्च निगरानीसहित घरमै एकान्तबासमा राख्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
जोलाहनपूर्वा ः पहिलो चरणको स्वाब परीक्षण
प्रतिक्रिया