अन्तर्राष्ट्रिय

बहराइनमा २४५ नेपालीमा कोरोना सङ्क्रमण



काठमाडौं, २४ बैशाख । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १५७ थियो । 

दूतावासका अनुसार मङ्गलबारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणबाट निदान प्राप्त गरी डिस्चार्ज हुनेको सङ्ख्या पनि एक हजार ७६२ पुगेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट आठ जनाको मात्र ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण गरेको छ । 

ठूलो सङ्ख्यामा नेपालीमा कोरोना सङ्क्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ । कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको छ । दूतावासले फाराममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको छ । 

बहराइनले अवैधरुपमा बसोवास गर्दै आएका आप्रवासीका लागि वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० सम्म आममाफी दिएको छ । सङ्क्रमण नियन्त्रण नहुँदासम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको भन्दै दूतावासले बहराइन सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न पनि नेपालीलाई सचेत गराएको छ । (रासस)

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६