पर्यटन

आज २५६४ औं बुद्ध जयन्ती शान्तिभूमि लुम्बिनी सुनसान



कपिलवस्तु, २५ बैशाख । आज २५६४ औं बुद्ध जयन्ती बौद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष रुपमा मनाउँदै छन् । बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण बुद्ध जयन्तीका अवसरमा गरिने विशेष औपचारिक कार्यक्रमहरु लुम्बिनीमा आयोजना भएका छैनन । विगतका वर्षहरुमा आजको दिन लुम्बिनीमा श्रद्धालुहरूको भीड लाग्ने गरेको थियो भने आज शान्तिभूमि लुम्बिनी सुनसान रहेको छ । 

            महामानव एवम् शान्तिका अग्रदूत तथा एसियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिन त्रिसंयोग दिवसका रुपमा बौद्ध धर्मावलम्बीले विशेष गरी मनाउने प्रचलन रही आएको छ ।  कोरोना भाइरसको जोखिमका कारण यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी सीमित व्यक्तिहरुका बीचमा मनाइन लागेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीस्थित विहार, र गुम्बाका भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा  विहान पूजापाठ गरी मनाइने लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनुभयो । ज्ञवालीले कोरोना भाइरसका कारण यस वर्षको बुद्ध जयन्ती प्रभावित भएको बताउनुभयो । 

            इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लाग्नु भएको थियो  । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिनुभएको थियो ।  जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ।

            भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गर्नुभएको छ । यसलाई बुद्धले दिनुभएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

            यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

        सबैभन्दा पुरानो धर्म हिन्दू धर्मले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । गत वर्ष काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकाली विशेष धुमधामका साथ मनाइने गरिन्थ्यो तर यसपटक कोरोना भाइरसका कारण लुम्बिनी शान्तिभूमि नै सुनसान बनेको छ ।

            यसैबीच, सरकारले बुद्ध जयन्तीका दिन बिहीबार आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती वैशाख पूर्णिमा÷चण्डी पूर्णिमा परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६