लुम्बिनी

गौतमबुद्ध विमानस्थलको निर्माण अघि बढ्दै



भैरहवा २८ बैशाख ।  नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण  अगाडि बढेको छ । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको विमानस्थल आयोजना शाखाले जनाएको छ ।उपमहानगरपालिकाले आयोजनाका लागि तिनाउ नदीबाट नदीजन्य सामग्री बालुवा र गिट्टी उपलब्ध गराएपछि विमानस्थल निर्माण अगाडि बढेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले पुनःसञ्चालन गर्ने निर्देशन दिएसँगै  विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसंँगको सहकार्यमा निर्माण कम्पनीले काम निरन्तरता दिएको हो ।

              बन्दाबन्दीका कारण केही समय सुस्ताएको विमानस्थलको निर्माण नदीजन्य पदार्थ बालुवा र गिट्टीको सहजतासँगै ११ किमी पेरिमिटरको सडक निर्माण, टर्मिनल भवन र एप्रोनबीचको भाग ढलान भइरहेको विमानस्थल आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।धावन मार्ग, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको विमानस्थल निर्माण कम्पनीले सन् २०२० मार्च ३१ सम्म  सम्पन्न गर्ने अन्तिम म्याद रहेको जनाएको छ । नेपाली र चिनियाँ कामदारले आन्तरिक आइसोलेशनमा बसेर निर्माण अगाडि बढाए पनि चीनबाट ल्याउनुपर्ने प्राविधिक उपकरण उतै रोकिएकाले निर्माण केही समय पछाडि धकलिने निर्माण कम्पनीले जनाएको छ ।

            चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन २०१४ डिसेम्बर ३१ मा रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ मा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको जिम्मा लिएको हो ।  सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता म्याद थियो ।  निर्माण कम्पनीले मधेश आन्दोलन,  नाकाबन्दी र आन्तरिक कारण देखाउँदै यसअघि चार पटक  म्याद थपिसकेको छ । एशियाली विकास बैंक ऋण सहयोगमा निर्माण भइरहेको सो विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा ठूलो हुने छ जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ । 

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६