भैरहवा, २८ बैशाख । नेपाल–भारत सीमा नाकामा प्रवासी नेपालीहरु आउने क्रम तीव्ररुपमा बढेको छ । भारतमा लकडाउन खुकुलो भएसँगै भारतका विभिन्न सहरमा रोजगारी गरी बस्ने नेपालीहरु फर्किने क्रम बढेको हो । आईवबार बिहानसम्म करिव एकहजार तीनसय बढी प्रवासी नेपालीहरु सीमानाका सुनौलीमा आइपुगेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक इश्वरी अधिकारीका अनुसार नेपालीहरु आउने क्रम बढिरहेको छ । भारतले अव आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नसक्ने जवाफ दिइरहेको पनि उहाँले बताउनुभयो ।
अहिलेसम्म दुवै देशको सहमति अनुसार नेपालतर्फ रहेका भारतीय नागरिक नेपालको क्वारेन्टाइनमा रहेका छन् भने भारततर्फ रहेका नेपाली सुनौलीको क्वारेन्टाइनमा छन् । सुनौलीमा रहेको क्वारेन्टाइनमा करिव सातसय नेपाली रहेका छन् भने अन्य सीमानाकामा छरिएर रहेको र रातको समयमा लुकिछिपी नेपाल छिर्ने गरेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । सीमा क्षेत्रमा नेपालीहरु आउने क्रम बढेसँगै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताउनुभयो । उता नेपाल–भारत सीमा क्षेत्र दशगजामा अलपत्र नेपालीहरुलाई अविलम्ब स्वदेश ल्याउन कांग्रेस सांसदले माग गरेका छन् ।
रुपन्देहीको क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित सांसद फकरुद्दीन खानले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै भारतका विभिन्न राज्यबाट हजारौं नेपाली रुपन्देहीसहित प्रदेश ५ का ६ वटा तराईका जिल्लाका दशगजा क्षेत्रमा आएर एक हप्तादेखि अलपत्र परेका उल्लेख गर्दै उनीहरुलाई तत्काल स्वदेश ल्याउन माग गरेका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको असरले भारतका विभिन्न राज्यमा रोजगारी गरिरहेका नेपालीहरु रोजगारी गुमेपछि र ती राज्यले प्रत्यक्ष अप्रत्यक्षरुपमा नेपाल फर्कन दवाव दिएकाले ढिला नगरी नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सांसद खानले माग गरेका छन् । दशगजामा आइपुगेर एक हप्तादेखि जोखिमपूर्ण ढंगले बस्न वाध्य नेपालीहरुलाई स्वदेश लयाउनुको विकल्प नभएकाले ढिला नगर्न उनले सरकारसंग आग्रह गरेका छन् ।
प्रतिक्रिया