विचार/ब्लग

नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको साँस्कृतिक विचलन



            अहिले नेपालमा जताततै कम्युनिष्टहरुको बोलवाला रहेको छ । सरकार ,सदन ,सडक सबै तिर कम्युनिष्ट मात्र देखिन्छन् । संसारका अरु कम्युनिष्ट भन्दा नेपालका कम्युनिष्टहरुको सोंचविचार र चिन्तन फरक भएरै होला सरकार चलाउने देखि लिएर सरकारको विरुद्धमा आन्दोलन गर्ने वा सरकार बिरुद्ध युद्धको तयारी गर्ने सबै कम्युनिष्टहरु हुन् भन्दाअरुले आश्चर्य माने पनि आम नेपालीले देखेजानेको र भोगेको कुरा हो । पूर्वी युरोप तथा एशियाका धेरै मुलुकबाट कम्युनिष्ट शासन पतन भएर सोभियतसंघको विघटनपछि संसारबाट कम्युनिष्ट लोप हुने आँकलन गरिरहेको बेला नेपालमा कम्युनिष्टप्रतिको जनताको आकर्षण झन बढेर गएको छ । यसको श्रेय वर्तमान नेतृत्वदेखि लिएर दिवंगत नेताहरुलाई जहाँ जसरी पनि दिन सकिन्छ । श्रेय जहाँ जसले जसरी लिएपनि नेपालमा कम्युनिष्ट पार्टी प्रतिको जन आकर्षण कम्युनिष्टहरुले नेपाल अधिकांश मेहनतकस निम्न वर्गीय जनताको समस्याको उठान हो । त्यसैगरि  देश र जनताको गरिबी, अभाव, पीडा ,सामाजिक भेदभाव , सामाजिक विकृतिको उन्मुलन गरी सभ्य एवं विकसित नेपालनिर्माणको सही मार्ग चित्र कम्युनिष्टसँग छ भन्ने जन विश्वासले गर्दा नै कम्युनिष्ट समर्थक जनताको संख्या बढेको हो । यसो त नेपालको कम्युनिष्ट आन्दोलनमा अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माणमा धेरैको रगत पसिना बगेको यथार्थ कुरा पनि बुझ्न जरुरी छ । नेपालमा संख्यात्मक रुपले कम्युनिष्ट समर्थकहरु त बढेको यथार्थ हो तर कम्युनिष्ट पार्टीका  कार्यकर्ता ,विभिन्न तहका नेताहरु र निर्वाचित प्रतिनिधिहरुको व्यबहार, आचरण, उनीहरुको दिन चर्या ,सामाजिक सम्बन्ध ,कम्यनिष्ट पार्टीका नेता कार्यकर्तामा हुनु पर्ने अनुशासन, वर्गीय चिन्तन आदि कुरालाई सैद्धान्तिक आधारमा विश्लेषण गर्ने हो भने सामन्ति चरित्र र चिन्तन भन्दा फरक देखिंदैन । सामन्तवादको विरुद्ध गर्जिने कम्यूनिष्टहरुको दिनचर्या सामन्तको जस्तो देखिंदैछ । सामन्तको नाममा विभिन्न कालखण्डमा भएका घटना , कारवाही वा व्यक्तिहत्या हत्यालाई अहिले कसरी औचित्यपुष्टि गर्न सकिएला ? अहिले कम्युनिष्ट नेताको सम्बन्ध ,खानपिन ,बसउठ अनि उनीहरुको दैनिक गतिविधिलाई हेर्ने हो भने घुसखोर ,कमिसनखोर ,राज्यकोष तथा प्राकृतिक स्रोतमाथि लुट मच्चाउनेहरुसँग नै गहिरो सम्बन्ध देखिन्छ ।

         अहिले सत्तारुढ नेपालमा कम्युनिष्ट पार्टी (नेकपा)ठूलो छ,हिजो सडकमा रहेको ,प्रतिपक्षमा रहेको, जनआन्दोलनमा रहेको ,जनयुद्धमा रहेको पार्टी अहिले राजकीय पार्टी बनेको छ । राजकीय भूमिकामा रहेको काम न संगठन बनाएर मात्र पुग्यो ,न दुश्मनको किल्लामा धावा बोलेर मात्र पुग्यो न सडकमा नारा जुलुस र विरोध प्रदर्शनले पुग्यो । साना पार्टीहरुले त वक्तव्य निकाले पनि पुग्यो । यतिबेला नेकपाको काम अझ बढी व्यवस्थित हुनु पर्ने ,नेताको काम अझ व्यापक र विपक्षीलाई समेत रिझाउने हुने पर्ने ,मातहतका निर्वाचित जनप्रतिनिधिलाई अभिभावकले जस्तै निरन्तर सहयोग गर्नु पर्ने ,आवश्यक सुझाव र निर्देशन हुनुपर्ने त्यो नभएर कतिपय ठाउँमा विरोधीको भूमिका खेलेको देखिन्छ ।

            यतिबेला पार्टी ठूलो छ ,कार्यकर्ता धेरै छन् , नेता धेरै छन् । समग्रममा पार्टी विशाल छ तर कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको मन, विचार र व्यबहार अत्यन्त संकुचित एवं तुच्छ जस्तो देखिएको छ । आफू आफूमा हान थाप छ , देशमा अहिले यति साह्रो विपतको अवस्था छ ,लाखौ पार्टी सदस्य ,कार्यकर्तालाई विपत विरुद्धको संग्राममा एक हुन र सहयोग गर्न परिचालित हुनु पर्ने हो तर  पार्टी बेखबर छ । नेतृत्वमा रहनेहरुले आफ्ना मातहतका कमिटीका बैठक,भेला , सम्मेलन र प्रशिक्षणमा अनुसाशन,गोपनियता ,आलोचना,आत्मालोचनाको बारेमा भन्दै आएका कुरा विर्सेर सञ्चार माध्यममा एकअर्काको आलोचना मात्र होइन ,वाकयुद्धको घोषणा नै भए जस्तो छ ।

            नेतृत्वमा रहनेहरु पुर्वमाओवादी, पूर्व एमाले, यतिले पनि नपुगेर  ओली गुट,प्रचण्ड गुट, माधव गुट ,बामदेव गुट, बादल गुट, नारायणकाजी गुट आदि केन्द्रमा देखिएको छ । यही गुटको आधारमा तलसम्म कार्यकर्तालाई विभाजन गर्ने प्रयास छ । गुट मान्ने र गुटमा रमाउनेलाई खुशीको कुरा भए पनि पार्टीमा रमाउनेलाई दुःखको विषय बनेको छ । देशको राजनीतिक स्थिरताको लागि गुट बिनाको बलियो पार्टी आवश्यक छ । गुटमा विभाजन हुँदा बलियो बहुमत प्राप्त नेपाली काँग्रेसको सरकार ढलेजस्तै  नेकपाको सरकार पनि हुन्छ कि भन्ने डर देखिएको छ । यस्तो दुखद् घटना आउन नदिन प्रयास भन्दा अझै पनि एकअर्कालाई गिराउने प्रयास देखिन्छ । तल्लातहसम्म कमिटी बनाउँदा पनि गुट हेरियो ,अहिले पनि कमिटी चलायमान छैनन् ,स्थानीय नेताको चाकरी गर्ने ,गुटको नेतृत्वसम्म पहूच भएको असल कार्यकर्ता मानिन्छ । अहिले नेकपा भित्र एउटा मान्यता स्थापित हुन पुगेको छ ,त्यो केहो भने अब राजनीति गर्न कि गुटको नेतासँग बलियो सम्बन्ध हुन पर्छ वा आर्थिक रुपले सम्पन्न हुनु पर्छ । यो अवस्था साना कम्युनिष्ट पार्टीहरुमा पनि धेरैथोरै देखिन्छ । यतिसम्म कि युद्धको रटान गर्ने समुह समेत चन्दाको फन्दामा परेको चर्चा सुनिन्छ । पुँजीवादी धारको राजनीति गर्नेहरुमा राजनीतिको आधार नै नेतृत्वको निकटता र आर्थिक लगानी मानिन्छ तर कम्युनिष्ट पार्टी भित्र त त्याग,समर्पण ,विचार ,चिन्तन, वर्गीय दृष्टिकोण आदिलाई ध्यान दिएर पार्टीमा जिम्मेवारी दिने संसारको प्रचलन भन्दा फरक देखिनु नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेको साँस्कृतिक विचलनको रुपमा लिन सकिन्छ । साँस्कृतिक विचलनका कारण यतिबेला पार्टी भित्र विचारको बहस सुन्य छ । पार्टीभित्र माथिदेखि तलसम्म विवाद त देखिन्छ तर विवादको कारण पदका लागि हुन्छ । यसरी साँस्कृतिक विचलनको कारण पार्टीलाई पूजीवादी सामन्तिधारमा रुपान्तर हुन सक्छ । हिजो अलग धारमा छँदा एकअर्कालाई लगाएको आरोप नेतृत्वमा रहनेहरुले व्यबहारले एकएक गरेर देखाएका छन् तर वर्गीयचिन्तन र लामो समय कम्युनिष्ट संस्कृतिमा अन्तरघुलित भएका तल्ला तहका कार्यकर्ता अविचलित छन् । अहिले सच्चिने अवसर पनि छ नभए माक्र्सवाद बुझेकाले विज्ञानको नियम पनि बुझका छन् कि नसच्चिनेहरु जसरी इतिहासमा बिलिन भए त्यही अवस्था आउन सक्छ । यतिबेला कम्युनिष्ट आन्दोलनलाई साँस्कृतिक विचलनबाट रोकेर अगाडि बढ्न आवश्यक छ । पद र पैसाको निम्ति मरिहत्ते गर्ने पदलोलुप द्रव्यपिचासहरुको घेरा तोडेर अँगाडि बढ्नु नै साँस्कृतिक विचलनबाट रोक्ने उपाय हुन सक्छ । यसका लागि नेपालकम्युनिष्ट पार्टी (नेकपा) भित्र नयाँ सिराबाट बहस हुनु आवश्यक देखिएको छ ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६