भैरहवा, ३१ बैशाख । लकडाउनका कारण नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नेपालीलाई आज स्वदेश ल्याइएको छ । नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा रहेका ५१० नागरिकलाई रुपन्देहीका सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले उद्धार गरेर आफ्नो नगरमा बनाइएको क्वारेन्टाइन लगेका छन् ।
उनीहरु सबैले सीमावर्ती भारतीय क्वारेन्टाइनमा २१ दिनको अवधि पूरा गरेका हुन् । ‘सीमामा रोकिएकोलाई ल्याएर क्वारेन्टाइनमा राख्न सिनपा र तिनपा तयार भएपछि उहांँहरुलाई सीमावर्ती भारतीय क्वारेन्टाइनबाट नेपाल ल्याएको हो’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । जिल्ला प्रशासन कार्यलय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार नेपाल प्रवेश गरेकामध्ये २७७ जना सिद्धार्थनगर र २३३ जनालाई तिलोत्तमा नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिने छ । उनीहरुलाई सिद्धार्थनगर र तिलोत्तमाको क्वारेन्टाइनमा राखेर कोरोनाको स्वाब परिक्षण गरिने छ । परीक्षणमा नेगेटिभ देखिए घर पठाइने छ ।
सिद्धार्थनगर पालिकाले लीलाराम मावि र भैरहवा नमूना माविमा प्रवासी नेपाली राख्ने गरी क्वारेन्टाइन बनाएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । यसैगरी तिलोत्तमा नगरपालिकाले सीमापारि भारतीय भूमिमा रहेका नेपालीलाई राख्नका लागि नगरभित्रको मधवलिया माविमा तयार गरिएको क्वारेनटाइनमा राख्ने तयारी गरेको नगरका प्रवक्ता सुरेन्द्रश्रीले बताउनुभयो । भारतले लकडाउन खुकुलो पारेसँगै सीमावर्ती क्षेत्रमा प्रवासी नेपालीहरुको भीड लाग्ने गरेको छ ।
प्रतिक्रिया