अर्थ-वाणिज्य

वैदेशिक रोजगारीबाट फर्केकालाई पूँजी उपलब्ध गराइने, श्रम बैंक स्थापना हुने



काठमाडौं, २ जेठ । सरकारले वैदेशिक रोजागारीबाट फर्केका युवालाई स्वरोजगारमा लगाउन शुरुआती पूँजी उपलब्ध गराउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नवप्रवर्तनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारबाट फर्केका अनुभवी तथा सीपयुक्त उद्यमशील युवालाई उद्यम व्यवसाय शुरु गर्न पूँजी उपलब्ध गराइने बताउनुभयो । 

उद्यम व्यवसाय गर्न क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच र बजारीकरणका लािग कार्यक्रमसँग आबद्ध गराइने, यसका लागि हाल सञ्चालित कार्यक्रमलाई पुनः संरचना गरी सबै प्रदेशमा विस्तार गरिने नीति कार्यक्रममा उल्लेख छ । शिक्षित बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा परियोजनामा आधारित शुरुआती पूँजी उपलब्ध गराई भरसक निजको शिक्षासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न ‘प्रोजेक्ट’ निर्माणमा सहयोग गरी उत्प्रेरित गरिनेछ । 

श्रम सूचना बैंक स्थापना

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सीपयुक्त दक्ष जनशक्ति, रोजगारीको क्षेत्र र रोजगारसम्बन्धी अन्य कार्यक्रमसँग आबद्ध गरी यथार्थ उत्पादनमूलक रोजगारी सिर्जना गर्ने बेरोजगार लक्षित अभियानका रुपमा कार्यान्वयन गरिने नीति कार्यक्रममा उल्लेख छ । 

सबै स्थानीय तहमा सञ्चालनमा ल्याइएको रोजगार सेवा केन्द्र स्थापना र रोजगार व्यवस्थापन सूचना प्रणालीलाई थप विकसित गर्दै श्रम बजारमा रहेका श्रमिकको सीप र क्षमताको उपयोग गर्न सहज हुने गरी उनीहरुको व्यक्तिगत विवरण रहेको श्रम सूचना बैंक स्थापना गरिने छ । 

स्थानीय रोजगार सेवा केन्द्रले रोजगारदाता र रोजगारीको खोजीमा रहेकाको बीच सम्पर्क स्थापित गरी रोजगारी प्राप्तिमा सहयोग गर्ने विश्वास लिइएको छ । रोजगारदाता र श्रमिक सङ्गठनबीच असल श्रम सम्बन्धको विकास गरिनेछ । श्रम निरीक्षण प्रणालीमार्फत श्रम अडिटलाई थप व्यवस्थित गरिने छ । सबै प्रकारका श्रम शोषण अन्त्य गरिने नीति कार्यक्रममा उल्लेख छ । (रासस)

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६