पर्यटन

बाग्लुङ कालिकामा चरीको चिरबिरमात्रै



बलेवा, ४ जेठ । शनिबार बिहान ८ बजेको थियो । चरीको चिरबिर र सालका पातको सल्याङमल्याङबाहेक मन्दिर परिसरमा कोही थिएन । प्रवेशद्वारबाट भित्र लागेपछि अलि पर मन्दिर छेवैमा केही कर्मचारी सरसफाइको काम गरिरहेका थिए । मन्दिरको मुख्य ढोकाभन्दा अघिपट्टि टिनटिन बज्ने घण्टीले बज्न नपाएको धेरै भएको छ । मन्दिर परिसरमा दैनिक पुग्ने पुजारी र सरसफाइमा काम गर्ने स्वयंसेवकबाहेक ती घण्टीले अरु कसैलाई नदेखेको दुई महिना बित्यो ।

        अरु बारभन्दा शनिबार बिहानको समयमा भीड लाग्ने बागलुङ कालिका मन्दिर लकडाउनपछिका शनिबारमा भने सुनसान नै रहने गरेको छ । बाक्लो जङ्गलको बीचमा रहेको पत्थर बिच्छ्याइएको सडक, यसै भाँचिएर ठुटा परेका र फँडानीमा आधा बनाएर छोडिएका सल्लाको रुखका ठूलाठूला ठुट्टाहरु मान्छे नै उभिएजस्ता देखिन्छन् । कोरोनाको त्रास बढेसँगै भएको लकडाउन शुरु भएदेखि नै बागलुङ कालिका मन्दिर प्रवेशमै रोक लगाइएको छ । मन्दिरको गेटअघि बसेका नेपाल प्रहरीका जवानले मन्दिर प्रवेशमा रोक लागेको जानकारी गराउने गरेका छन् । कालिका गुठी व्यवस्थापन समितिको सिफारिसमा पुगेका र पुजारी तथा सरसफाइ गर्ने मजदुरबाहेक दुई महिनाको अवधिमा मन्दिरमा प्रवेश गरेका कोही छैनन् ।

            “भित्र जान मिल्दैन गेटमै पुजा गरेर जानू” मन्दिर प्रवेशद्वारमा बसेका प्रहरी हवल्दार रमेश कुर्मीले भन्नुभयो, “धेरै आउँछन् गेटमै पूजा गरेर जाने गरेका छन् ।” मन्दिरमा पूजाआजा गर्दा कोरोनाको सङ्क्रमण फैलिने त्रासले सर्वसाधारणका लागि प्रवेशमा नै रोक लगाइएको हो । मन्दिरमा नियमित पूजाको काम भने चलिरहेकै छ । लामो इतिहास बोकेको र साविकको पश्चिमाञ्चलका धर्ममा आस्था राख्नेहरुको धरोहर मानिने मन्दिरमा यति लामो समय सुनसान भएको भने यो पहिलोपटक हो । “मलाई जानकारी भएसम्म यो मन्दिर यसरी सुनसान भएको थाहा छैन”, मन्दिरका पुजारी गोपीचन्द्र पौडेलले भन्नुभयो, “१९ दिने जनआन्दोलनका बेला लगाइएको प्रतिबन्धमा पनि मन्दिरमा पूजा गर्नेहरु आएकै थिए रे ।” शनिबार बिहान मन्दिर परिसरमा तस्बिरका लागि पुगेका पत्रकार विजय रानाले आफूले मन्दिर सुनसान रहेको पहिलोपटक देखेको बताउनुभयो ।

        उहाँका अनुसार यसअघि यस्तो अवस्था आएको सुनिएको पनि थिएन । “अरु बेला मन्दिर आउँदा चरा कराएको सुन्न त के देख्न पनि पाइने थिएन”, रानाले भन्नुभयो, “हत्तेरी अहिले त बाटोमै चरा चरेका छन् ।” मन्दिरमा आवश्यक पूर्वाधार विकासका लागि यो महत्वपूर्ण समय रहेको उहाँले बताउनुभयो । कालिका भगवती गुठीले भने मन्दिरमा प्रतिबन्ध नै लगाउने सोच नभए पनि गृह मन्त्रालयको निर्देशनअनुसार मन्दिरमा प्रवेश बन्द गरिएको जनाएको छ । “कोरोनाको त्रास हुँदाहुँदै पनि अत्यावश्यक पूजा सावधानीका साथ गर्न सकिन्थ्यो तर रोकेर बसेका छौँ”, गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भन्नुभयोे, “जिल्ला प्रशासनले पनि अलि ‘टाइट’ गर्यो हामीले पनि नकार्न सकेनौँ ।” मन्दिर प्रवेशमा रोक लगाउँदा टाढाटाढाबाट पैदलै हिँडेर पूजाआजाका लागि आउने एकाध भक्तालु त्यसै फर्किने गरेका छन् । (रासस)

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६