लुम्बिनी

दश स्वास्थ्यकर्मीको स्वाब परीक्षण, मदाने गाउँपालिका बन्द



अर्घाखाँची,  अर्घाखाँचीको छाया पोलिक्लिनिकका १०  स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ । कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार गराएको भन्ने खुलेपछि उक्त पोलिक्लिनिक बन्द गरी उपचार, प्रयोगशाला र औषधालयमा संलग्न  स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । 

            गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनले वैशाख ३१ गते करीब ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारका लागि सन्धिखर्कको छाया पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराएका थिए । पोलिक्लिनिकले उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि अन्यत्र जान सिफारिस गरेपछि उनलाई थप उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनुभयो । क्रिमसन अस्पताल भर्ना भएको दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको छ । 

            उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय अन्यत्र कतै गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरिएको थियो ।  छाया पोलिक्लिनिकमा सिल गरेर चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब परीक्षणको रिपोर्टका आधारमा त्यस क्लिनिकमा उपचारका लागि आएका सबै बिरामी र  उनीहरुसंँग सम्पर्कमा आएका सबैलाई खोजेर कोरोनाको परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिनुभयो । 

            गुल्मी– यहाँ पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएपछि मदाने गाउँपालिका नै बन्द गरिएको छ । संक्रमण फैलिन नदिन र त्यसबाट मानिसलाई थप सचेत गराउनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीको आग्रहमा  गाउँपालिकाले अर्को सूचना जारी नगर्दासम्म पालिका बन्द गर्ने निर्णय गरेको हो ।

            मदाने  ६ पुर्कोटदहमा अध्यापनरत शिक्षकमा सोमबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोनाको संक्रमण देखिएपछि कोही पनि व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र हिँडडुल नगर्न सार्वजनिक रुपमा सूचनासमेत जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनुभयो ।

            जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले संक्रमितको तत्कालै केस हिष्ट्री, ट्राभल हिष्ट्री र कन्ट्याक ट्रयाकिङ्ग गर्न गाउँपालिकालाई आग्रह गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले संक्रमितसँग प्राथमिक उपचारमा संलग्न स्वास्थ्यकर्मी, उनको परिवार र उनीसँग सम्पर्कमा आएका सबैको आरडिटी र पिपिआर टेष्ट गर्नका आवश्यक प्रक्रिया शुरु गर्नका लागि स्वास्थ्यकर्मीसहितको टोली आज नै संक्रमित क्षेत्रमा पठाउने तयारी गरिएको  प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । 

            मदानेमा कोरोना संक्रमित भएको खबरसँगै गुल्मीवासी थप सशंकित बनेका छन् । पुर्कोटदह यति बेला सुनसान जस्तै बनेको छ । त्रासका कारण कोही पनि मानिस घर बाहिर निस्केका छैनन् । 

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६