अन्तर्राष्ट्रिय

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार, यस्तो छ तयारी



सउल, ८ जेठ । जेठमा हुनुपर्ने  रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ ।

            नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मङ्गलबार रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ । इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो ।  कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । 

            हरेक वर्ष लगभग सात हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् । यस वर्ष पनि सात हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो ।  कोरोना भाइरस महामारी रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता थियो । यसैबीच कोरिया सरकारको पक्षबाट यो निर्णय आएको हो ।

दक्षिण कोरियामा पठनपाठन

            कोरोना महामारीपछि बन् यहाँका विद्यालय पुनः सञ्चालन भएका छन् । कोरोना भाइरस केही साम्य हुन थालेपछि पहिलो चरणअन्तर्गत माध्यमिक तहका पठनपाठन बुधबारदेखि  सञ्चालन भएका हुन् । पूर्वप्राथमिकदेखि  अन्य तहका विद्यालय भने जुन ८ देखि सञ्चालन गरिने  शिक्षा मन्त्रालयले बताएको छ ।

        गत फेब्रुअरीदेखि कोरोना भाइरसले महामारीको रुप लिएपछि सम्पूर्ण तहका विद्यालय बन्द भएका थिए । पुनः सञ्चालनमा आएका हरेक विद्यालयमा शिक्षक तथा विद्यार्थीको स्वास्थ्य निगरानी तथा सेल्फ आइसोलेसनलगायत कुरालाई बढी जोड दिइने बताइएको छ । ती विद्यालयमा शिक्षा मन्त्रालयले सात चेक प्वाइन्टसमेत उपलब्ध गराएको छ ।

        विद्यालय खुलेर पठनपाठन शुरु भए पनि कोरियामा कोरोना भाइरस भने पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । दुई हप्ताअघि सउल नजीकैको इथेवन बजारको एक रात्रि क्लबबाट सामूहिक सङ्क्रमणपछि कोरियामा सङ्क्रमण पुनः थपिएको छ । बुधबार मात्र ३२ नयाँ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको ११ हजार ११० पुगेका छन् । त्यसैगरी नौ हजारभन्दा धेरै निको भई घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुने २६३ पुगेका छन्  । (रासस)

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६