बुटवल, ८ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वय र प्रदेश नं ५ को प्रदेशसभा सचिवालयको सहयोगमा आज बुटवलमा पत्रकारको कोरोना परीक्षण गरिएको छ । कोरोना संक्रमणका समयमा पनि स्थलगत सक्रिय रिपोर्टिङ गर्ने ४० पत्रकारको आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको महासंघका अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिनुभयो ।
खुला सीमाका कारण जिल्लामा कोरोना संक्रमित बढ्दै जाँदा पत्रकारमा समेत त्रास देखिएकाले प्रदेशसभा सचिवालयलाई अनुरोध गरी परीक्षणको व्यवस्था मिलाइएको अध्यक्ष जिसीले बताउनुभयो । “पहिलो चरणमा ३५ जनाको आरडिटी भएको छ, अब अर्को चरणमा अरु सदस्यलाई समेट्छौंँ”, उहाँले भन्नुभयो ।
महासंघले पत्रकारका लागि विभिन्न चरणमा सुरक्षा सामग्रीसमेत वितरण गर्दै आएको छ । कोरोना संक्रमण शुरु भएदेखि तीन चरणमा पत्रकारलाई मास्क, पञ्जा, स्यानिटाइजरलगायत सामग्री वितरण गरिएको सचिव रामप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार महासंघका सदस्य नभए पनि मिडियामा क्रियाशील सबै पत्रकारलाई सुरक्षा सामग्री उपलब्ध गराइएको छ ।
दोस्रो चरणमा रामपुरमा
तानसेन– नेपाल पत्रकार महासंघ पाल्पाको आयोजना र स्वास्थ्य कार्यालयको संयोजनमा क्रियाशील पत्रकारको आज कोरोना परीक्षण गरिएको छ । कोभिड –१९ को संक्रमण फैलिँदै गएपछि जिल्लाका ३६ पत्रकारको आरडिटी गरिएको पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
पहिलो चरणमा तानसेनमा परीक्षण गरिएको र दोस्रो चरणमा रामपुरमा परीक्षण गर्ने तयारी गरिएको महासंघका सचिव किरण कौशलले जानकारी दिनुभयो । पाल्पामा आजै ३९ नेपाली सैनिकको समेत आरडिटी गरिएको छ । (रासस)
प्रतिक्रिया