अन्तर्राष्ट्रिय

पाकिस्तानको विमान दुर्घटनामा १०७ जनाको मृत्यु



पाकिस्तान, ९ जेठ ।  पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको छ ।  दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिनुभएको छ । क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । 

            दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उहाँले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिनुभएको छ । पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीकोे विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो ।दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताउनुभयो । विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।  

            विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथे ।प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए । घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

            स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन् । कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो । (रासस/एपी)

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६