अर्थ-वाणिज्य

कृषिमा मात्रै दुई लाख रोजगारीको सम्भावना



काठमाडौं, १३ जेठ ।  कोभिड–१९ का कारण लाखौँको सङ्ख्यामा रोजगारी गुम्ने प्रक्षेपण भइरहँदा सरकारले कृषि क्षेत्रमा सम्भाव्यता पहिचान गरी रोजगारीको अवसर सिर्जना गर्ने भएको छ । श्रम रोजगार पत्रकार समूहले आज गरेको भर्चुअल अन्तरक्रियामा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तत्काल कृषि क्षेत्रमा दुई लाख रोजगारी सिर्जना गर्ने सम्भावना सरकारले देखेको बताउनुभयो । 

कोरोना महामारीपश्चात वैदेशिक रोजगारीमा गएका हजारौँ नेपाली श्रमिक स्वदेश फर्कने आँकलन गरिएको र यस्तो अवस्थामा उनीहरुलाई कृषिमा आकर्षित गर्नुपर्ने बहस हुँदै आए पनि विदेशबाट फर्काइएकालाई कसरी काममा लगाउने भन्नेमा कम छलफल भइरहेको मन्त्री भुसालको भनाइ थियो ।  

विदेशबाट फर्केर कृषिमा लाग्नेका लागि सरकारले प्राविधिक सेवाको ग्यारेण्टी गर्ने, मल, बीउबिजन र पानी सस्तोमा उपलब्ध गराउने, रिफाइनान्सको ग्यारेण्टी गर्ने र उत्पादित बस्तु बिक्छ भन्ने कुराको सुरक्षित गर्दै काम गर्ने वातावरण भने बनाउन सकिने उहाँको भनाइ छ ।

उहाँले आगामी वर्षलाई कृषि क्षेत्र सुधारका लागि आधार वर्षका रुपमा लैजाने बताउनुभयो । “कृषि क्षेत्रको विकासका लागि स्थानीय आवश्यकताअनुसार व्यवस्था गर्नुपर्नेछ” मन्त्री भुसालले भन्नुभयो, “किसानले उत्पादन गर्ने कृषि सामाग्रीको लागि बिउ बिजन, मल, सिँचाइदेखि उचित भण्डारणको लागि आवश्यक व्यवस्था गर्नुपर्नेछ त्यसका लागि मन्त्रालयले तयारी गर्दैछ ।”

सबै स्थानीय तहमा यस वर्ष कृषि सुधारको जग बसाल्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “आगामी वर्ष राम्रो राष्ट्रिय बजार स्थापित गर्दै तेस्रो वर्ष कृषिलाई एक आकारमा ल्याउने हो, जबसम्म कृषकको नाफाको ग्यारेन्टी हुँदैन तबसम्म कृषि क्षेत्रको सुधार हुँदैन त्यसैले समर्थन मूल्य तोक्दैछौँ ।” (रासस)

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६