अर्थ-वाणिज्य

निर्माण सामग्री र ढुवानीमा मूल्यवृद्धि गरिएकोमा आपत्ति



काठमाडौं, १३ जेठ ।  निर्माण सामग्री र ढुवानीमा मिलेमतोमा कृत्रिम अभाव सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गरिएकाप्रति ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सरकारी निर्णय बमोजिम निर्माणमा खटिएका व्यवसायी कालोबजारीले गर्दा थप मारमा परेको उल्लेख गर्नु भएको हो । 

            बन्दाबन्दीअघि भन्दा सिमेन्ट प्रति बोरा रु ८० देखि रु १२० र रड प्रति केजी रु १० देखि रु १५ सम्म मूल्यवृद्धि भएको जानकारी महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दीअघिको मुल्यभन्दा डेढ गुणा बढी मुल्यवृद्धि भएको महासङ्घले जनाएको छ ।

      विश्व बजार सहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य हुन नसक्ने महासचिव दाहालले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण काम गर्न समस्या भइरहेको समयमा मुल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायी १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा समस्यामा परेको उहाँको भनाइ छ । 

        सिङ्गो मुलुक र विश्व नै कोरोना सङ्क्रमणका कारण आक्रान्त भइरहेको अहिलेको जटिल समयमा हचुवाको भरमा कृत्रिम रुपमा गरिएको मूल्यवृद्धिको कारण विकास निर्माणमा थप लागत बढ्न गई सरकारलाई नै आर्थिक भार पर्न जाने ठहर महासङ्घले गरेको छ । 

        केही व्यक्तिले फाइदा उठाउन गरिएको मूल्यवृद्धिलाई तत्काल नरोके विषम परिस्थितिमा काम नभई ‘ओभरहेड’ खर्च मात्र बढ्ने महासङ्घले जनाएको छ । बन्दाबन्दीको समयमा अति आवश्यक सेवा र कोभिड–१९ सँग सम्बन्धित बाहेकका खरीद प्रक्रियाका बोलपत्र सामान्य अवस्थामा फर्केको सात दिनसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था हालसम्म लागू नभएकाले त्यसका लागि पुनः सम्पूर्ण सार्वजनिक निकायसमक्ष अनुरोध गरेको महासङ्घले जनाएको छ । (रासस)

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६