अर्थ-वाणिज्य

भूमि बैंक तथा श्रम, रोजगार बैंक संचालन गर्न कार्यदल



 बुटवल, १४ जेठ । बुटवल उपमहानगरपालिकाले भूमि बैक र श्रम तथा रोजगार बैक सञ्चालन गर्ने भएको छ । त्यसका लागि आवश्यक योजना निर्माण गर्न उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा कार्यदल गठन भएको छ । बुटवल उपमहानगरपालिकामा भूमिको वैज्ञानिक प्रयोग, कृषि क्षेत्रको सबलीकरण र त्यसका लागि चाहिने जनशक्ति तयार पार्नेसम्मका कामको योजना अगाडि सारिएको छ । 

            बुटवलमा भूमि बैक स्थापना गर्न, कृषिको उत्पादकत्व बढाउन तथा रोजगारी तथा उद्यमशीलता विकासका लागि ठोस कार्ययोजना निर्माण गर्न उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । खेतीको राम्रो संभावना भएका बुटवल क्षेत्रको सेमलार र मोतिपुर समेटिने गरी केही वडा खेतीयोग्य जमिनलाई लक्षित गरेर सहरी कृषि प्रवद्र्धनका कार्यक्रम अगाडी बढाएको उपमहानगरले अहिले भूमि बैंक तथा श्रम बैंक सञ्चालन र कृषि उत्पादकत्व बृद्धि अध्यय्नको तयारी गरेको छ । 

        कार्यदलको प्रतिवेदनका आधारमा नीति तथा कार्यक्रममा समावेश गर्ने, बजेटको व्यवस्थापन गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानेगरि तयारी भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । बुटवल उपमहानगरका प्रवक्ता तथा कार्यक्रमका संयोजक रामप्रसाद रेग्मीले सहरी कृषिमा पुनर्जागरण ल्याउने गरी बुटवलले अर्को नमुना कामको थालनी गरेको र त्यसका लागि बुटवलले भूमि बैंक, श्रम बैंक र कृषिको उत्पादकत्व बढाउने कार्ययोजना तयार पार्न विशेष कार्यदल गठन गरेको जानकारी दिनुभएको हो । 

            बुटवलमा करिब दुई हजार एक सय ४४ हेक्टर क्षेत्रफल खेती र कृषिसंग सम्बन्धित कामको प्रयोजन भइरहेको छ । बुटवलमा बजार क्षेत्र, बस्ती क्षेत्र, खेतीयोग्य क्षेत्र, हरियाली जंगल क्षेत्र, नदी उकास क्षेत्र र वगर क्षेत्रका रुपमा रहेको छ । बुटवलको हरियाली क्षेत्र मुलुकका कुनैपनि नगरपालिकाको भन्दा धेरै छ ।

        पछिल्लो समय वैदेशिक रोजगारका लागि युवा शक्ति विदेशिने, अव्यवस्थित बस्तीको विकास भएको, जग्गाको खण्डीकरण बढेपछि अधिकांश उर्वर जमिन बाँझो तथा एकीकृतरुपमा खेती हुन नसकेको, वर्षेनी आयात वृद्धिलगायत कार्य भइरहेकाले उत्पादनमा आएको कमीलाई सुधार्न बुटवलले यसखालको अवधारणा ल्याएको जनाएको हो ।

        बुटवलले सहरी कृषिको प्रवद्र्धन, फसल धितो राखेर ऋण, जग्गा भाडामा लिएर खेती गर्नेलाई प्रोत्साहन अनुदान, कृषि उपकरण तथा बीउविजन प्रदानदेखि कृषि उपजको बजारिकरणसम्मका नमुना काम गर्दै आएको छ । त्यस्तै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अहिले भूमि बैंक, श्रम बैंक तथा कृषि उत्पादकत्व बृद्धि गर्ने अवधारणासहितको कार्यक्रम बनाइएको प्रमुख सुवेदीको भनाई छ ।

        कार्यक्रमका संयोजक रेग्मीले उपमहानगरपालिकाको हालै बसेको कार्यपालिकाको बैठकले यस्तो कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गरेको थियो । उक्त कार्यदलमा कार्यपालिका सदस्य दधिराम न्यौपाने, कृषि विकास शाखाका प्रमुख सन्तोष जिसी, पशुपंछी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडे र वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेल रहनुभएको छ । 

            बुटवलले प्रत्येक वडामा बाँझो रहेको जमिनको यकिन तथा वडामा बसोबास गर्ने बेरोजगार युवाको तथ्यांक संकलन गरिरहेको छ । अहिले गठन भएको कार्यदलले सोही आधारमा नयाँ योजना बनाउनका लागि सुझाव संकलन गरिरहेको छ । उपमहानगरका विभिन्न संयन्त्रमार्फत सुझाव संकलन भइरहेको छ ।

        यो कार्यक्रमले बुटवलमा यसअघि नै जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई प्रोत्साहन स्वरुप अनुदानको व्यवस्था गरिएको छ । नगरबासीले घरघरबाट आफ्नै लागि भएपनि कृषि उत्पादनमा केन्द्रित गराउने, जमिन नहुनेले कौसीमै पनि तरकारी उत्पादन गर्न सक्नेगरि भूउपयोगको नीति बनाइएको छ । 

        युवाशक्तिलाई विदेश पलायनबाट राक्ने र विदेशबाट फर्केर आउनेलाई यहीँ उत्पादनमूलक क्षेत्रमा लगाउने लक्ष्यका साथ श्रम बैंकको अवधारणा बनाइएको छ । कोरोना महामारीका कारण मुलुकमा खाद्यसंकट निम्तिन सक्ने खतरा रहेको विज्ञहरुले बताइरहेका बेलामा बुटवलले युवाशक्तिलाई कृषि उत्पादनका काममा जोड्नेगरि श्रम बैंकको अवधारणा बनाएको हो ।

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६