लुम्बिनी

कहिले जुर्ला नाम, कहिले तोकिएला राजधानी ?



रुपन्देही  १० जेठ । गत वर्षको जेठ ८ गते तत्कालीन प्रदेश प्रमुख परमानन्द झाले प्रदेश ५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भन्नुभएको थियो– यही वर्षभित्र प्रदेशको राजधानी र नाम तोकिने छ ।प्रदेश प्रमुख झाले नीति तथा कार्यक्रममा भन्नुभएको प्रदेशको राजधानी र नामको विषय प्रदेश सभाले टुङ्गो लगाएको भए एक वर्ष भैसक्थ्यो तर अहिलेपनि यो मुद्दा पेचिलो र गंभीर वनेको छ । तर नाम कहिले जुर्ने र राजधानी कहाँ तोकिने अझै अन्योल कायमै छ । अहिलेफेरी त्यही कुरा दोहोरिएको छ– प्रदेश ५ राजधानी र नामको टुङ्गो यही आर्थिक वर्ष २०७७/०७८ मै लगाइनेछ ।  

            प्रदेश सरकारले कोभिड १९ को महामारीका वीच आगामी वर्ष प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ । एक वर्षको वीचमा प्रदेश प्रमुख फेरिनुबाहेक प्रदेश सरकारले प्रदेशको राजधानी र नाम बाहेक र प्रदेश सभामा प्रमुख विपक्षी दलले एक दुईपटक राजधानी र नामका लागि दवाव दिनुबाहेक केही गर्न सकेन । मुख्यमन्त्री शंकर पोखरेलले गत वर्ष नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गर्ने दिन भन्नुभएको थियो– ढुक्क हुनुहोस प्रदेशको राजधानी र नामको टुङ्गो यही वर्ष लगाउँछौं । 

            तर मुख्यमन्त्री पोखरेलले यस विषयमा प्रदेश सभामा सरकारको तर्फबाट कार्यसूची नै प्रवेश गराउनु भएन । त्यसवीचमा धेरै कुरा बाहिर आए– मुख्यमन्त्री पोखरेल बुटवलमा राजधानी राख्नै चाहनुहुन्न, उहाँको प्राथमिकता कि दाङ नभए कपिलवस्तुसम्म राजधानी ल्याउने योजनामा हुनुहुन्छ । उहाँको पटकपटकको सार्वजनिक अभिव्यक्ति पनि त्यही प्रकारले आए र प्रदेश सभाले गत वर्ष राजधानी र नाम तोक्न सकेन । अहिलेफेरी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोनाको जोखिम न्यूनिकरण भएसंगै प्रदेशको राजधानी र नाम तोकिनेछ भन्नुभएको छ । 

            सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामै यो विषय परेपनि कोभिड १९ का कारण परिस्थिति जटिल वन्दै गएकोले यो विषयान्तर हुने संभावना पनि उत्तिकै छ र यो न्यायालयमा जस्तै हेर्दाहर्दैमा राखिने त होइन भन्ने प्रश्न उत्पन्न भएको छ । यद्यपि प्रदेश सरकारले अहिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भाग लिदै प्रदेश सभाका सांसदहरुले राजधानी र नामको विषय उच्चारण नै गरेका छैनन् । प्रदेशको राजधानी र नाममा विषयमा विगतमा गठन भएका संसदीय विशेष समितिले दिएका प्रतिवेदन पछिल्लोपटक प्रदेश सभा सचिवालयमा बुझाइएपनि त्यसलाई प्रदेश सभामा प्रस्तुत गरिएको छैन । 

            यद्यपि प्रदेशको नामका विषयमा अनौपचारिक रुपमा सहमति भएको छ भने राजधानी कहाँ हुने भन्ने विषयमात्रै अन्यौलमा छ । उता प्रदेश सरकारले गत वर्ष नै प्रदेशका तीन महत्वपूर्ण शहर बुटवल– भैरहवा, दाङ र नेपालगञ्जलाई महानगरपालिका वनाउने घोषणा गरिएपनि अहिलेसम्म त्यस विषयमा ठोस पहल अघि बढ्न सकेको छैन । अहिले झन नीति तथा कार्यक्रममा प्रदेश महानगर पूर्वाधार विकास कार्यक्रम घोषणा गरिएको छ त्यसले झन अन्यौलता बढाएको छ । 

            तराईका बुटवल, भैरहवा, नेपालगञ्ज, कोहलपुर तथा घोराही–तुल्सीपुर र पहाडका स्वर्गद्वारी (भिङग्री), रुरुक्षेत्र (रिडी) र रामपुरलाई प्रदेशका ६ शीर्षविन्दु (नोडल प्वाइन्ट) घोषणा गर्ने र विकास र संजालका आयामहरुलाई त्यस ढाँचामा केन्द्रित गर्ने नीति लिइने, लगानी सम्मेलन गर्ने प्रदेशको बुटवल, दाङ र नेपालगञ्जलाई महानगर वनाउने अवधारणा अनुसार महानगर पूर्वाधार विकास कार्यक्रम संचालन गर्ने कार्यक्रममा समाबेश गरिएको छ । 

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६