लुम्बिनी

कोरोना जितेर नाच्दै, गाउँदै अस्पतालबाट २५ जना फर्किए



भैरहवा, १९ जेठ । कोरोना जितेर घर फर्किनेहरु बढिरहेको बेला सोमवार भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

        डिस्चार्ज हुनेहरुमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका ५, गैडहवा गाउँपालिकाका १०, सिद्धार्थनगर नगरपालिकाका १, कपिलवस्तु जिल्लाका ५, नवलपरासीका ३ र भारतका १ जना रहेको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताउनु भयो ।

        डिस्चार्ज भएकालाई प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेशसभा सांसद सन्तोषकुमार पाण्डेय, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुले खादा ओढाएर पुष्पगुच्छा दिएर विदाई गर्नुभएको हो । 

        अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नालका अनुसार निको भएर डिस्चार्ज हुनेहरु ४ वर्षदेखि ५० वर्ष उमेरका छन् । अस्पतालमा २० दिन बिताएका कोरोना संक्रमितहरु २४ घण्टाको अन्तरालमा पीसीआर रिपोर्ट निगेटिभ भएपछि डिस्चार्ज गरिएको डा. दर्नालले जानकारी दिनुभयो । 

        सुरुमा आउँदा उहाँहरु निकै हत्सोत्साहित देखिनुहुन्थ्यो, समाजबाट बहिष्कृत भए जस्तै मर्ने हो कि बाँच्ने कि भन्ने अवस्थामा डराएजस्तो आउनुभएको जस्तो लाग्थ्यो, अहिले निकै खुशी भएर नाँच्दै गाउँदै जाँदै हुनुहुन्छ, डा. दर्नालले भन्नुभयो । 

        लेभल वान कोभिड–१९ को रुपमा रहेको भीम अस्पतालको आइसोलेशन कक्षमा ५ वटा आइसीयू र २ वटा भेन्टीलेटरसहितको २७ बेड रहेको छ । प्रदेश सरकारले ५० बेड क्षमताको बनाउन निर्देशन दिएको र निकट भविष्यमा ७७ बेडको कोरोना संक्रमित विरामीको उपचार गर्ने अस्पतालको रुपमा सञ्चालन हुने डा. दर्नालले बताउनु भयो । 

        सो अवसरमा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना संक्रमित विरामीलाई निको पार्न खट्ने अस्पतालका मेसु, अस्पताल प्रशासन, डाक्टर र नर्सलाई धन्यवाद दिनुभयो । उहाँले प्रदेश ५ मा कोरोना संक्रमण निरन्तर बढ्दै गइरहेकोले आइसोलेशन सेन्टरलाई विस्तार गरिने काम भइरहेको समेत जानकारी दिनुभयो ।

        मन्त्री बरालले अधिकांश कोरोना संक्रमितहरु लक्षण बिनाको पाइएको बताउँदै धेरैजसो कोरोना संक्रमित विरामीहरु कोरोनासंग सम्बन्धित लक्षण नभएको हुनुहुन्छ, त्यसैले आत्तिहाल्नुपर्ने स्थिति छैन, संक्रमित सबैलाई माया र सदभाव व्यक्त गर्न आवश्यक छ, संक्रमितको उपचार गर्न सक्षम भएकोले आतंकित नभइ धैर्यता र संयमतापूर्वक प्रदेश सरकारका कामलाई सहयोग गर्न आग्रह गर्दछु भन्नुभयो । 

        प्रदेश ५ मा ३५ हजार बढी नागरिकहरु क्वारेन्टाइमा रहेको मन्त्री बरालले जानकारी दिनुभयो ।कोरोना संक्रमित भइ डिस्चार्ज हुने गोण्डा (भारत) का २८ वर्षिय पुरुषले भीम अस्पतालमा रहँदा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको राम्रो व्यवहारले कोरोना संक्रमित भए पत्तो नपाएको बताए ।डाक्टर र नर्सको सहयोग घरमा आमाबाबुले गर्ने माया भन्दा कम नरेहको उनको भनाइ छ । उनले यस अस्पतालमा आउने कोरोना संक्रमित विरामी निको भएर जाने कुरामा आफु ढुक्क रहेको बताए । आफू नवलपरासीमा भागवत (पूजा) का लागि नेपाल आएको बेला कोरोना संक्रमण पुष्टी भएको उनले बताए ।

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६