परासी, २१ जेठ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले टेलिभिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । नगरपालिका क्षेत्रमा रहेको बाल सिकाई केन्द्रको भवनमा अत्यन्तै कम लगानीमा २५ बेडको आइसोलेसन निर्माण गरिएको नगर प्रमुख भीम बहादुर थापाले बताए । आर्थिक बोझ कम गर्न नगरपालिकाले सहयोगी दाताबाट बेड सहयोग मागेको हो ।
आइसोलेसनमा रहेका सबै बेड बुटवलको एक स्वास्थ्य संस्थाले सहयोग स्वरुप उपलब्ध गराएको हो । बेड मात्र नगरपालिकाले खरिद गरेको हो । आइसोलेसन निर्माण गर्न १ लाख ३१ हजार मात्र लागेको छ । आइसोलेसनमा प्रोटिन लगायतका नेपाल सरकारले उपलब्ध गराएका अन्य औषधिको व्यवस्था गरिएको छ । मनोरञ्जनका लागि टेलिभिजन र वाईफाईको व्यवस्था गरिएको छ ।
आइसोलेसनमा नगरपालिकाका स्वास्थ्यकर्मी र अन्य १९ जना भोलेन्टिएर चिकित्सकहरुले निःशुल्क सेवा दिने व्यवस्था मिलाइएको नगर प्रमुख थापाले बताउनु भयो । उनीहरु अहिले रुपन्देहीका अस्पतालमा भोलेन्टियर गर्दै आएका हुन । प्रदेश सरकारले हरेक स्थानीय तहलाई आइसोलेसन निर्माण गर्न निर्देशन अन्य स्थानीय तहले अहिलेसम्म निर्माण गर्न सकेका छैनन् । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । अहिलेसम्म ६ जना संक्रमित भएका छन् ।
तीनजना उपचारपछि घर फर्केका छन् । भारतबाट आउनेको संख्या बढ्दै जानु र संक्रमितहरु फेला पर्न थालेपनि अन्य स्थानीय तहहरु भने आइसोलेसन निर्माणमा उदासिन छन् । आइसोलेसन नहुँदा जिल्लामा देखा परेका संक्रमितहरुलाई भैरहवा र बुटवल पठाउनु पर्ने बाध्यता छ । यता पाल्पामा कोरोेना संक्रमणको संख्या ५ पुगेको छ । मंगलवारसम्म मात्र पाल्पामा थप दुईजनामा कोरोना सक्रमण देखिएको हो । पाल्पामा हिजो मात्र ३ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै पाल्पामा कोरोना संक्रमितको संख्या ५ पुगेको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा सोमबार निस्दी गाउँपालिका वडा नंं २ का २ जना १७ र ३६ बर्ष उमेरका पुुरुषमा कोरोना पुष्टि भएको हो ।
दुवैजना एकहप्ता अघि भारतबाट पाल्पा आएका थिए । सँक्रमित दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिका स्वास्थ्य स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताउनु भयो । दुवै संक्रमित गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका छन । दुबै संक्रमितलाई तानसेनको आइसोलेसनमा ल्याउने तयारी भएको र दुबैजनाको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा अन्य व्यक्तिहरुको खोजी भईरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनु भयो ।
पाल्पामा आइतबार मात्र रैनादेबी छहराका २ र माथागढी गाउँपालिकाका १ गरि ३ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित तीनजनालाई तानसेनको आइसोलेसनमा ल्याई थप उपचार भईरहेको हाल उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया