अर्थ-वाणिज्य

जमीन चक्लाबन्दी गरी तिलोत्तमामा व्यावसायिक खेती गरिने



रुपन्देही, २३ जेठ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको आजदेखि शुरु भएको सातौँ नगरसभामा नगर प्रमुख वासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति तथा कार्यक्रममाथि दफाबार छलफलका लागि नगरसभाको दोस्रो बैठक आइतबार बोलाइएको छ ।

         नीति तथा कार्यक्रम नगरको एकीकृत शहरी विकास योजना कार्यान्वयनमा केन्द्रित रहेको उहाँको भनाइ छ ।  नीति तथा कार्यक्रममा सामान्यतया चालु वर्षकै करको दरलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिइने तथा बन्दाबन्दी हुँदा चालु आर्थिक वर्षमा कर तिर्न नपाएकाहरुलाई आगामी आर्थिक वर्षको तीन महिनासम्म कुनै प्रकारको हर्जाना नलिइने उल्लेख छ । 

        नगरपालिकाले सम्भव हुने वडामा सार्वजनिक–निजी–साझेदारी ढाँचामा कम्तीमा १० बिघा जमीन चक्लाबन्दी गरी व्यावसायिक खेती शुरु गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षमा किसानलाई ५० दश हर्षपावरसम्मका हाते ट्रक्टर खरीदमा ५० प्रतिशत अनुदान दिइने, प्रत्येक वडामा पाँचपाँच अगुवा किसान तयार गर्ने, मकै, गहुँ र  तरकारीको बीउ, सिँचाइ बोरिङ, माछापोखरी, दूध उत्पादन, फूल खेती र  पशु बीमा अनुदानलाई निरन्तरता दिइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

        शिक्षामा चालु आर्थिक वर्षका सबै कार्यक्रमलाई निरन्तरता दिँदै कम्तीमा पाँच सामुदायिक विद्यालयलाई बस खरीद लागि प्रतिविद्यालय रु १० लाख विशेष अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख घिमिरेले बताउनुभयो ।

        नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा थप १५०  युवालाई रु चार  लाखसम्म सहुलियत ऋण दिने तथा सुधारिएको आरन पेशामा आबद्ध हुन चाहनेलाई उपकरणमा ८० प्रतिशत अनुदान दिने नगरपालिकाको योजना छ । (रासस)

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६