काठमाडौं, २६ जेठ । नेपाल सरकारले यातायातको भाडा दर बृद्धि गरेर सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको छ । तत्काल सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरी नयाँ निर्देशिका तयार भएकाले सवारी धनीलाई घाटा नहुने गरी भाडा बृद्धि गरेरै भएपनि सार्वजनिक यातायात सञ्चालनको तयारी थालिएको हो ।
प्रस्ताव गरिएको मापदण्ड अनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा संख्यामा यात्रु बस्ने छन् । सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर व्यवस्था गर्नुपर्नेछ साथै मास्कको प्रयोग अनिवार्य गर्नुपर्नेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारवाही गरिनेछ । यसबारे ट्राफिक प्रहरीले अनुगमन गर्ने उल्लेख छ ।
गाडी धनिले दैनिक रुपमा गाडीमा डिस–इन्फेक्सन स्प्रे छर्किनु पर्ने, यात्रुले गाडी कुर्दा तथा गाडीको प्रयोग गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने लगायतको प्रस्ताव गरिएको छ । यात्रुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिँदै यातायात व्यवसायी र यात्रुलाई जिम्मेवार बनाउने गरि निर्देशिका तयारी अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिनुभयो ।
प्रतिक्रिया