लुम्बिनी

५ नं. प्रदेश सरकारद्वारा पत्रकार बीमाका लागि बजेट विनियोजन



बुटवल, ३० जेठ ।  प्रदेश नं ५ सरकारले कोरोनाको महामारीमा समाचार सम्पे्रषणका लागि अग्रपङ्तिमा रहेर पत्रकारिता गरिरहेका प्रदेशभरिका पत्रकारको कोरोना बीमा गरिदिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले कोरोनाको महामारीमा पत्रकारसमेत जोखिम अवस्थामा रहेकाले पत्रकार बीमाका लागि बजेट विनियोजन गर्दै बीमा गरिदिने निर्णय गरेको बैठकपश्चात् सरकारका प्रवक्ता भौतिक योजना तथा विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो । सरकारले बीमाका लागि रु चार लाख ९० हजार बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । 

        मन्त्री चौधरीका अनुसार पत्रकार महासङ्घको प्रदेश नं ५ समितिको समन्वयमा प्रदेशमा क्रियाशील पत्रकारको बीमा गरिने छ । बैठकले पूर्वाधार विकाश प्राधिकरण स्थापना सम्बन्धमा बनेको विधेयक मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ भने कोभिड १९ का कारण मृत्यु हुनेको दाहसंस्कार गर्नेसम्बन्धी कार्यविधिलाई समेत स्वीकृत गरेको छ । 

        त्यसैगरी बैठकले प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्नुका साथै बुटवल टेक्निकल इन्टिच्युटलाई रु १० लाख अनुदान दिने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । 

        उहाँले आजको बैठकले प्रदेशमा सञ्चालनमा रहेका आइसोलेसनको सञ्चालन तथा व्यवस्थापन गर्ने मापदण्डसमेत स्वीकृत गरेको जानकारी दिनुभयो । उहाँले प्रदेशमा तीन प्रकारका आइसोलेसनको व्यवस्था हुने बताउँदै जिल्ला र पालिकास्तरमा एक एक आइसोलेसनको व्यवस्थासहित सेल्फ आइसोलेसनको समेत प्रबन्ध मिलाउने गरी निर्णय भएको जानकारी दिनुभयो । 

        मन्त्री चौधरीका अनुसार जिल्ला र स्थानीय आइसोलेसनको आर्थिक व्यवस्थापन प्रदेश र सम्बन्धित पालिकाले गर्नेछ भने सेल्फ आइसोलेसनमा सङ्क्रमित देखिएका वा लक्षण नदेखिएका हरेकले आफैँ खर्च गरेर आइसोलेसन बस्न सक्नेछन् । (रासस)

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६