लुम्बिनी

भेन्टिलेटरमा भर्ना भएका कपिलवस्तुका युवक कोरोना जितेर घर फर्किए



बुटवल, ३० जेठ । बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना सङ्क्रमित एक युवा निको भएर आज घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्थानीय धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कपिलवस्तुस्थित कपिलवस्तु नगरपालिका–१२ बिठुवाका २२ वर्षे युवा बालगोपाल कोहारलाई आज डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो ।

        भारतको मुम्बईमा विगत पाँच वर्षदेखि पेन्टरको काम गर्दै आएका कोहार जेठको पहिलोसाता स्वदेश फर्किनुभएको थियो । उहाँ विगत लामो समयदेखि मधुमेहको बिरामी हुनुहुन्छ । घर आएको केही दिनमै स्वास्थ्यमा समस्या देखिएपछि जिल्लास्थित तौलिहवा अस्पतालमा स्वास्थ्य जाचका लागि यही जेठ ७ गते पुगकामा अर्को दिन कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । 

            जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय क्वारेन्टिनमै राख्दा स्वास्थ्य जटिल बन्दै गएपछि उहाँलाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको हो । “अस्पतालमा ल्याउँदा त सुगरको मात्रा उच्च रहेको र अवस्था सारै जटित थियो, हाम्रो स्वास्थ्यकर्मीको टिमले ठूलै प्रयास गरेर भेन्टिलेटरमा राखेर बचाउन सफल भयौँ”, डा खनालले भन्नुभयो, “कोरोना सङ्क्रमितको यति जटिल अवस्थाको बिरामी निको भएको सायदै नेपालमा पहिलो हो ।”

        कोरोना विशेष अस्पतालका फोकल पर्सन वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले उहाँमा मधुमेहको मात्रा उच्च रहेको अवस्थामा कोरोना पोजेटिभ हुँदा स्वासप्रस्वासमै जटिल समस्या देखिएपछि दुई दिनसम्म भेन्टिलेटरमै राखेर उपचार गर्नुपरेको बताउनुभयो । स्वास्थ्यमा केही सुधार आएपछि मात्र आइसियूमा सारिएको थियो ।

        अस्पतालमा १६ दिनसम्मको उपचारमा सुगरको मात्रा स्थिर भएपछि लगातार दुई पटकको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको मेसु खनालले बताउनुभयो ।

        अस्पतालबाट निको भएर बिदाइ हँुदा बिरामी कोहारले आफूले नयाँ जीवन पाएको भन्दै स्वास्थ्यकर्मीलाई आभार व्यक्त गर्नुभयो । उहाँलाई अस्पतालका मेसु खनाल, फोकल पर्सन डा थापालगायत उपचारमा संलग्न स्वास्थ्यकर्मीले फूलका गुच्छा र खादा लगाएर बिदाइ गर्नुभएको थियो । त्यस अवसरमा स्वास्थ्यकर्मीले अझै पनि स्वास्थ्य अवस्थामा ख्याल राख्न सुझाव दिनुभयो । कोरोना नेगेटिभ भएपछि मधुमेहका बिरामीलाई अरुबाट पुनः सङ्क्रमणको खतरा हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिन सुझाव दिनुभएको थियो । (रासस)

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६