स्वास्थ्य

भरतपुर अस्पतालमा सङ्क्रमित र अन्य बिरामीको बाटै अलग



भरतपुर १ असार । सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा सङ्क्रमितलाई राखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार सङ्क्रमितलाई अस्पतालको ‘ए’ ब्लकको भुईंतलामा पछाडिबाट बाटो खोलेर राखिएको छ । सो स्थानमा जानका लागि स्वास्थ्य कार्यालयको मूल गेटतर्फबाट जाने बाटो प्रयोग गरिएको छ । तिवारीले स्वास्थ्य कार्यालयबाट अस्पतालतर्फ जाने बन्द रहेको गेटलाई सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । मानिस आवतजावत त्यसै गेटबाट गर्न शुरु गरेको र भूइँ मिलाएर गाडीसमेत आजबाट सञ्चालनमा ल्याइने बताउनुभयो । सङ्क्रमित ल्याउन, लैजान र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले सोही बाटो प्रयोग गर्ने छन् । नयाँ प्रवेशद्वारबाट सोझै सङ्क्रमित राखिएको स्थानमा जाने बाटो रहेको छ । 

                  सङ्क्रमित रहेको क्षेत्रलाई हरियो जालीले घेरेर थप व्यवस्थित गर्न लागिएको तिवारीले बताउनुभयो । हाल सङ्क्रमित राखिएको क्षेत्रलाई पूरै सिल गरिएको छ । त्यहाँ २७ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमितको उपचारमा संलग्नलाई एक होटलमा क्वारेन्टिन बनाएर राखिएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सो ठाउँमा अहिले २३ जना चितवनका, बर्दघाट सुस्त पूर्वका तीन जना र एक जना कपिलवस्तुका सङ्क्रमित रहेका छन् । अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल मर्मतसम्भार गर्नुपर्ने भएपछि सङ्क्रमित सबैलाई भरतपुर अस्पताल सारिएको छ । 

                 अस्पतालको हाडजोर्नी र सर्जरी विभागका बिरामीलाई स्थानान्तरण गरेर सो ठाउँमा सङ्क्रमित राखिएको हो । पौडेलका अनुसार सो ठाउँमा १० श्ययाको सघन उपचार कक्षसहित ७५ श्ययाको आइसोलेसन कक्ष रहेको छ । सिसी क्यामेरा, इन्टरनेट, टेलिफोनको इन्टरकमलगायतका प्रविधि जडान गरी उनीहरुको अनुगमन गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमितलाई प्रवेशद्वारदेखि उपचार क्षेत्रसम्म अलग गरिएकाले अन्य बिरामीलाई कुनै असर नगर्ने बताउनुभयो । अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । अधिकारीले सर्वसाधारण जनताको निःशुल्क र न्यून शुल्कमा उपचार गर्ने यस अस्पतालमा पाउने सेवालाई सञ्चालन गरी सङ्क्रमितको समेत उपचार गरिएको बताउनुभयो । 

राजधानीको प्रसूति गृहपछि धेरै बच्चा जन्माउने र उपचार हुने यस अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालले कोभिड–१९ प्रयोगशालासमेत सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमितको उपचार गरी यहीँबाट सात जना घर फर्किसकेका छन् । 

प्रकाशित : १ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६