तौलिहवा, ११ मंसिर
कपिलवस्तुको तौलिहवा आँखा अस्पताल आँखासम्बन्धी उपचारका लागि जिल्लासहित सीमावर्ती भारतीय क्षेत्रका नागरिकको समेत भरोसायोग्य उपचार केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। अस्पतालले पछिल्लो तीन आर्थिक वर्षमा एक लाख ३ हजार ४ सय ५६ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ।
अस्पतालको सार्वजनिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म ५ हजार १ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिएको छ। वार्षिक रूपमा औसत ३५ हजारभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिने गरेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा ३२ हजार ९ सय ५, २०८१/८२ मा ३६ हजार १३ र २०८२/८३ मा ३४ हजार ५ सय ३८ जनाले उपचार सेवा लिएका थिए। यसले अस्पतालप्रति सेवाग्राहीको आकर्षण र आँखा उपचारको बढ्दो आवश्यकतालाई समेत देखाउँछ।
नियमित उपचारसँगै अस्पतालले विद्यालयस्तरमा आँखा स्वास्थ्य सचेतना र निःशुल्क उपचार शिविरलाई प्राथमिकता दिँदै आएको छ। तीन वर्षको अवधिमा २१ हजार ९ सय ५१ विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ भने दृष्टिसम्बन्धी समस्या देखिएका ९ सय ६३ विद्यार्थीलाई चस्मा वितरण गरिएको अस्पतालले जनाएको छ।
त्यस्तै, विभिन्न स्थानमा सञ्चालन गरिएका निःशुल्क आँखा शिविरमार्फत १८ हजार ५ सय ५८ जनाको आँखा परीक्षण गरिएको छ। शिविरबाट पहिचान भएका बिरामीमध्ये ३ हजार ४ सय ५ जनाको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालको विवरणमा उल्लेख छ।
अस्पतालमा नेपाली नागरिकसँगै भारतीय सेवाग्राहीको संख्या पनि उल्लेख्य रहेको छ। पछिल्लो तीन वर्षमा भारतबाट आएका ९ हजार ५४ जनाले यहाँबाट आँखा उपचार सेवा लिएका छन्। यसले तौलिहवा आँखा अस्पतालको सेवा जिल्लाको सीमाभन्दा बाहिरसम्म विस्तार हुँदै गएको देखाएको छ।
अस्पतालका अध्यक्ष मनोज श्रीवास्तवले आगामी दिनमा उपचार सेवा, शल्यक्रिया, विद्यालय केन्द्रित आँखा परीक्षण तथा सीमावर्ती क्षेत्रका नागरिकलाई प्रदान गरिने सेवाको दायरा थप विस्तार गर्ने बताउनुभएको छ।
नियमित उपचार, निःशुल्क शल्यक्रिया र विद्यालयस्तरको आँखा स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिँदै आएको अस्पतालले सर्वसाधारणको पहुँचमा गुणस्तरीय सेवा पु¥याउने प्रयास गरेको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिक र विद्यार्थीलाई लक्षित निःशुल्क कार्यक्रमले आँखा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पु¥याएको छ।
वार्षिक औसत ३५ हजार बिरामीलाई सेवा दिनु र तीन वर्षमा पाँच हजारभन्दा बढीको शल्यक्रिया गर्नु अस्पतालको सेवा विस्तारको महत्त्वपूर्ण सूचक हो। आगामी दिनमा सेवा गुणस्तर, दक्ष जनशक्ति, आधुनिक प्रविधि र ग्रामीण तथा सीमावर्ती क्षेत्रसम्म पहुँच विस्तार गर्न सके अस्पतालले क्षेत्रीय आँखा स्वास्थ्य सेवामा थप योगदान दिन सक्ने स्वास्थ्य क्षेत्रका जानकार बताउन्छन् ।









प्रतिक्रिया