अर्थ-वाणिज्य

खेतबारीमा लगाएका अन्नबालीे जोगाउनै मुश्किल



पाल्पा ३ असार । पाल्पाका ग्रामीण क्षेत्रका किसानलाई बाँदरले सताएपछि हैरान भएका छन् । खेतबारीमा लगाएका अन्नबालीे जोगाउनै मुश्किल  र  धपाउन बसेकालाई समेत आक्रमण समेत गर्न थालेको पछि उनीहरु हैरान परेका हुन् । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास जङ्गल नजीकका बस्तीमा बाँदर पसेर घरभित्रैबाट अन्न खान थालेको छ ।  रामपुर नगरपालिकाको खटाङखेत, भलायटार, प्याक्लुक, भुजात, आपचौर कटहरटार, एक्लेटार तथा सेराका खेतबारीमा बाँदरले अन्नबाली खाएर नोक्सान पार्ने गरेको बताइएको छ । 

स्याङ्जाको चापाकोट नगरपालिका–८ का कृषक टीकाराम परियारको पाल्पाको रामपुर कालीगण्डकी किनारमा खेतबारी छ । बन्दाबन्दीले आवतजावत गर्न नपाउँदा खेतको मकै बाँदरले च्यात्न थालेको उहाँ बताउनुहुन्छ । “बिहान उज्यालो हुने बित्तिकै खेतमा बाँदर आउँछ, पालो लगाएर बिहानदेखि बेलुकासम्म खेतमा मकै जोगाउन कुरेर बस्नुपर्छ”, उहाँले भन्नुभयो । रामपुर नगरपालिका–८ का महेश घिमिरेले अम्दाहा खेतमा लगाएको मकै बाँदरले नष्ट पारेको बताउनुहुन्छ ।

                “हिउँदमा आलु जोगाउन मुस्किल, अहिले फेरि मकै, तरकारी र फलफूल  जोगाउन मुस्किल भयो”, उहाँले भन्नुभयो, “बाँदरले मकै खाने तथा च्यातेर नष्ट पा¥यो, कोसँग हारगुहार गर्नु ।” गाउँमा हूलका हूल बाँदर खेतबारीमा पसेर बाली नष्ट गर्ने र धपाउन जाँदा आक्रमण गर्न आउने गरेको उहाँले दुःखेसो पोख्नुभयो ।  घरको दलान, कोठामा राखेका मकैलगायत करेसाबारीमा रोपेका तरकारी तथा फलफूल बाँदरबाट जोगाउन गाह्रो भएको स्थानीय कृषक गोविन्दप्रसाद घिमिरेको भनाइ छ ।  बालीनाली जोगाउन बिहानदेखि बेलुकासम्म खेतबारीमा कुर्दा पनि जोगाउन नसकिएकोे उहाँको भनाइ छ । 

कालीनदी छेउछाउका केही कृषकले खेती गर्नसमेत छाडेका छन् । घरमा रहेका महिला, बालबालिका तथा वृद्धवृदाले बिहानदेखि बेलुकासम्म बाँदर धपाउन समस्या भएपछि केही खेतहरु बाँझै छाडेको कषकहरु बताउँछन् ।  रामपुर नगरपालिका–७ का कृषकले विकल्पमा बेसार खेती रोजेका छन् । तिनाउ गाउँपालिकामा बाँदर, बँदेल र दुम्सीले खेती खाइदिएपछि छ ।  तिनाउको गड्टा, झ्याङ्ला, गणेशटोल, बगाहा, नुवाकोट, हरियाली लगायतका क्षेत्रमा वन्यजन्तुले खेती खाएर नष्ट पार्ने गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताउनुहुन्छ । सो क्षेत्रमा बँदेलको आक्रमणबाट केही समयअघि एक बालकसमेत घाइते भएका थिए । 

तिनाउ गाउँपालिका–२ का कृषक इमानसिंह थापाले गत फागुनमा लगाउनुभएकोे मकै बाँदरले खाएर नष्ट पारेको गुनासो गर्नुभयो । पछिल्लो समय दुम्सीले समेत नष्ट पारेपछि खेतमा नै बिजुली बत्ती जडान गरेको उहाँले बताउनुभयो । तिनाउमा केही दिनअघि असिनापानीले समेत करीब रु २५ लाख बराबरको बाली नष्ट पारेको गाउँपालिकाले जनाएको छ सो गाउँपालिकाको २०७७÷७८ को बजेटमा कृषि बीमा कार्यक्रम ल्याउने तयारी रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

बगनासकाली, तानसेन नगरपालिकाको छेर्लुङ्, रम्भा गाउँपालिकामा पनि कृषकको दिनचर्या बाँदर कुरेरै बित्ने गरेको छ । बगनासकाली गाउँपालिका पाल्पाले गएको वर्ष बाँदर नियन्त्रणका निम्ति बजेट विनियोजन गरेर समिति गठन गरे पनि खासै प्रभावकारी हुन सकेको छैन । रम्भा गाउँपालिका–३ अगाहा खोला क्षेत्रमा भने महिलाहरुले विकल्पका रुपमा निमुवा खेती गर्न थालेका छन् । कागती तथा निमुवामा क्षति नगर्ने भएकाले यसबाट आम्दानी लिन थालेको उनीहरुको भनाइ छ । बाँदरले पटकपटक दुःख दिने गरेको पाल्पामा नियन्त्रणको खास योजना सफल हुन नसकेको रम्भा गाउँपालिका पाल्पाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ । गाउँपालिकाले कार्यक्रम नै बनाएर वन्यजन्तु संरक्षण तथा नियन्त्रणको योजना बताए पनि त्यसको कार्यान्वयनमा समस्या भएको उहाँको धारणा छ । 

रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बाँदर नियन्त्रणमा आर्थिक वर्ष २०७७÷७८ को बजेटमा कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले बाँदर लखेट्ने दीर्घकालीन योजना अहिलेसम्म नभएकाले पनि अलमल भइरहेको स्पष्ट पार्नुभयो । उहाँले कृषकको समस्यालाई बुझेको र यसका लागि तर्साउने मेशिन र तारजाली लगायतको उपर्युक्त उपाय खोजिने जानकारी दिनुभयो । कृषकले भने स्थानीय स्तरमा सरकार भए पनि बाँदर नियन्त्रणका लागि ठोस योजना ल्याउन नसकेको गुनासो गरेका छन् । 

प्रकाशित : ३ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६