अर्थ-वाणिज्य

प्रदेश ५मा चार उपमहानगर : बजेटमा के छ फरक ?



कपिलवस्तु  ११ असार । प्रदेश ५का ४ उपमहानगर पालिकाले  आगामी आर्थिक वर्ष २०७७/०७८  को अनुमानित आयव्ययको विवरण (बजेट)  सार्वजनिक गरेसंगै  खासमा के फरक छ भनेर नियाल्ने प्रयास गरिएकोछ। यी सबैमा  अधिकांश पूरानै विकासे योजनाहरु निरन्तरता पाएका भएपनि यसपटक कोरोना भाइरसको महामारीले पारेको असरलाइ न्यूनीकरण गर्ने प्रयास स्थानीय सरकारले बिशेषत गरेका छन् ।

        स्थानीय सरकारले कृषिमा अनुदान दिने, स्वरोजगार, रोजगार सिर्जना गर्ने, सीपक्षमता विकास गर्नेजस्ता कार्यक्रम र योजना समेट्दै वैदेशिक रोजगारबाट फर्केका, रोजगारी गुमाएको श्रमशक्तिलाई आकर्षित गर्ने प्रयास गरेका छन् ।प्रदेश ५ का ४ उपमहागरपालिका मध्ये दाङको तुल्सीपुर उपमहानगरपालिकाले सबैभन्दा धेरै बजेट ल्याएको छ । तुल्सीपुरले २ अर्ब ३४ करोडको बजेट ल्याएको छ भने त्यसपछि बुटवल उपमहानगरपालिकाले २ अर्ब १ करोडको बजेट ल्याएको छ ।

तुल्सीपुर  २ अर्ब ३४ करोड बजेट :

दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार बजेट ल्याएको छ । उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले बुधबार पूँजीगततर्फ अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ ६६ करोड २० लाख ६४ हजारको बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा पुँजीगतर्फ ७२ प्रतिशत र चालुतर्फ २८ प्रतिशत छुट्याइएको छ ।स्वास्थ्य, कृषि, रोजगारी, शिक्षालाई बजेटले प्राथमिकता दिएको छ ।

    ‘खुसी जनता : समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर : राम्रो तुलसीपुर’ बनाउने योजना अनुसार बजेट विनियोजन गरिएको उपप्रमुख आचार्यले बताईन् ।उनले चालु आर्थिक वर्ष २०७६/०७७ मा एक अर्ब ७१ करोड ८८ लाख ६ हजार बराबरकोे बजेट बिनियोजन भएकोमा कोरोना भाइरसका कारण राजश्व संकलनमा समस्या हुनुका साथै संघ र प्रदेशबाट पनि अपेक्षाअनुसार बजेट प्राप्त हुन नसक्दा अहिलेसम्म एक अर्ब ४८ करोड ९१ लाख ४१ हजार आम्दानी भएको बताइन् ।

बुटवलमा २ अर्ब १ करोड बजेट

रुपन्देहीको एकमात्र उपमहानगर बुटवलले दुई अर्ब एक करोडको बजेट सार्वजनिक गरेको छ । बुटवलले बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, खाद्य सुरक्षा र रोजगारीलाई प्राथमिकता दिएको छ ।बुटवलको बजेटमा चालुतर्फ ९७ करोड ४३ लाख अर्थात् करिब ४८ प्रतिशत र पूँजीगततर्फ ९९ करोड २० लाख ९६ हजार अर्थात् ४९ प्रतिशत र वित्तीयतर्फ ५ करोड अर्थात् दुई दशमलव ४८ प्रतिशत बराबरको बजेट विनियोजन भएको छ । बुटवलको यो बजेट गत आवको भन्दा झण्डै ११ करोड बढी हो ।

    नगरसभाको सातौं अधिवेशनमा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आव ०७७/०७८ का लागि बजेट प्रस्तुत गरेकी थिईन् ।साथै बुटवलमा सञ्चालनमा रहेका राष्ट्रिय गौरव, प्रदेश गौरव र बुटवलको आफ्नै नगर गौरवका आयोजना र पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राख्दै अधुरा योजनालाई पहिले पूरा गरिने भएको छ ।नयाँ रोजगारीका अवसर सिर्जना गर्दै कोभिड १९ लगायतका महामारी तथा विपदको सामना गर्दै, सामाजिक आर्थिक जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्वास्थ्य शिक्षा र खाद्य सुरक्षालाई जोड दिदै रोजगारीका अवसर सिर्जना गरिने बजेटमा उल्लेख छ ।

घोराही १ अर्ब, ८५ करोड बजेट

दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्व ८५ करोड २२ लाख ९३ हजार रुपैयाको बजेट प्रस्ताव गरीएको छ । उपप्रमुख सिता सिग्देल न्यौपानेले चालुतर्फ १ अर्व ८ करोड ५७ लाख २२ हजार अर्थात ५८ दशमलव ६० प्रतिशत रकम विनियोजन गरिन् । पुँजीगततर्फ ७६ करोड ६५ लाख ७१ हजार अर्थात ४१ दशमलव ४० प्रतिशत रकम विनियोजन गरेको उनले उल्लेख गरिन् ।

    उपमहानगरले आगामी वर्षका लागि चालु आर्थिक वर्षभन्दा झण्डै ७ करोड बजेट बढाएको छ ।घोराही उपमहानगरपालिकाले कोरोना भाइरसका कारण उत्पन्न महामारी रोकथामका लागि ११ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । घोराही उपमहानगरले कृर्षि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा स्थापित गर्दै थप जनशक्ति कृषि पेशामा आकर्षित गर्न रु २ करोड ३९ लाख ३० हजार विनियोजन गरेको हो ।

    यस्तै उपमहानगरले पशुपंक्षी व्यवसायको प्रवद्र्धन, शिक्षा, पूर्वाधार विकास, पर्यटकीय क्षेत्र, विपद तथा वातावरणलगायतलाई मुख्य प्राथमिकतामा राखेको छ । यस्तै उपमहानगरले सरसफाइका लागि, महिलाहरुको क्षमता अभिवृद्धिका लागि, जेष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति सहित फरक क्षमता भएका व्यक्तिहरुको शसक्तिकरणका लागि, उद्यमशीलता विकास मार्फत रोजगारी अभिवृद्धि गर्नका लागि आदि क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

नेपालगञ्ज  अर्ब ४७ करोड :

बाँकेको एक मात्रै उपमहानगरपालिको आगामी आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्व ४७ करोड ९६ लाख ५४ हजार ७६० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च २४ करोड तीन लाख, पुँजिगत खर्च एक अर्व २० करोड र वित्तिय व्यवस्थातर्फ तनि करोड १० लाख व्यय हुने अनुमान गरिएको जानकारी दिईन् । बजेटमा स्वास्थ्य, शिक्षा, रोजगार लगायतका कुरालाई मुख्य प्राथमिकतामा राखिएकोछ ।

    यसैगरी बजेटमा कोभिड १९ को कारण स्वदेशमा फर्किन बाध्य युवाहरुलाई मध्यनजर गरी स्वदेशमै रोजगारी सिर्जना गरि आर्थिक रुपमा आत्मनिर्भर गराउन वैदेशिक रोजगारबाट फर्केकाहरुले नयाँ व्यवसाय सञ्चालन गर्न चाहेमा व्यवसायमा लाग्ने करमा छुट, कोभिड १९ को कारणले सबैभन्दा बढी होटल, रेष्टुरेन्ट, क्यासिनो, ब्युटीपार्लर लगायतका व्यवसायीको करमा छुटको प्रस्ताव पनि राखिएको छ ।

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६