बुटवल, २३ असार । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित किसानलाई बुटवल उपमहानगरपालिकाले प्रोत्साहनसहित आर्थिक सहयोग प्रदान गरेको छ । उपमहानगरपालिकाले आफूले घोषणा गरेको कार्यक्रमानुसार नगरका ५८ किसान र दुई सहकारीलाई नगद अनुदान प्रदान गरेको हो । नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मालगायतले छनोट भएका किसानलाई आज राहत रकम प्रदान गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख सुवेदीले किसानलाई कुनै पनि प्रकोपबाट प्रभावित हुन नदिनका लागि नगरपालिकाले आफ्नो योजनानुसार सहयोग गरेको बताउनुभयो । कृषि पेशालाई आकर्षण र व्यावसायिक बनाउन बुटवलले दीर्घकालीन महत्वका किसान लक्षित कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुसार छनोट भएका किसानलाई कार्य प्रगतिअनुसार रु १५ हजारदेखि रु २० हजार तथा सहकारीलाई रु एक लाख र रु एक लाख ४० हजार अनुदान गरी कुल रु ११ लाख ४० हजार अनुदान प्रदान गरिएको हो । अनुदान पाउनेमा सिम्रिक कृषि सहकारी संस्था लिमिटेड र आदर्श कृषि सहकारी संस्था लिमिटेड छन् । तिनै सहकारीसँगको सहकार्यमा उपमहानगरपालिकाले किसानलाई फसल धितो राखेर अनुदान दिंँदै आएको छ । सहकारीलाई बोरासहितको छपाइ मेसिन र सीड ड्रिल मेसिन खरीदका लागि अनुदान प्रदान गरिएको हो ।
कोभिड–१९ विशेष कृषि कार्यक्रमका लागि बीउ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको कृषि विकास शाखा प्रमुख जिसीको भनाइ छ । उपमहानगरपालिकाले नगरका कृषकलाई आवश्यक बीउ, मल, औजारलगायतमा सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । (रासस)
प्रतिक्रिया