कपिलवस्तु, असार २९ । कपिलवस्तु जिल्लामा निजी विद्यालयमा अध्यापनरत शिक्षकहरूको संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कपिलवस्तुले निजी विद्यालयका शिक्षकको बैशाख देखिको तलब सरकारले दिनुपर्ने माग राखेका छन् । आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत शिक्षा मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उक्त माग राखिएको हो । युनियनले ५ बुँदे मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी लाई बुझाएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले शिक्षकहरूको समस्या प्रति आफू संवेदनशील रहेको र सम्बन्धित निकायसमक्ष समस्या समाधानका लागि पहल गर्ने वताउनु भएको छ ।
कोरोना भाइरस (कोभिड(१९) को विषम परिस्थितिमा पनि संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुले अनलाइन कक्षालगायत अन्य तोकिएको कार्य नियमित रुपमा गर्दै आइरहेको तर पूर्वनिर्धारित तलव, सेवासुविधा प्राप्त हुन्छ वा हुँदैन त्यसको निश्चित हुन नसकेको र यसतर्फ राज्य पक्ष र विद्यालय व्यवस्थापन पक्ष गम्भीर नदेखिएको कारणले आफूहरू चरम चपेटामा परेको गुनासो व्यक्त गरेका छन् । इस्टु कपिलवस्तुका अध्यक्ष मोहित मिश्रको नेतृत्वमा गएको निजी विद्यालयका शिक्षकहरूको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत शिक्षा मन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
माग यथोचित समयमा पूरा नभए चरणबद्ध आन्दोलनको घोषणा गर्ने युनियनका जिल्ला सचिव रामप्रसाद अधिकारीले वताउनु भयो । साथै संगठनले लकडाउनको समयमा शिक्षक निस्कासन गर्ने काम बन्द गरियोस् र निस्कासित शिक्षकलाई पुनर्वाहली गर्नु पर्ने, सम्पूर्ण निजी विद्यालयलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचिकृत हुनुपर्ने बाध्यकारी व्यवस्था गर्नु पर्ने र संस्थागत विद्यालय अनुगमन ,वर्गीकरण तथा शुल्क निर्धारण समितिमा शिक्षक युनियनको अनिवार्य प्रतिनिधित्वको गर्नुपर्ने समेत माग अघि सारेको छ ।
प्रतिक्रिया