काठमाडौं ७ साउन। न्युरोडका व्यापारी विकास अग्रवालको १० लाख रुपैयाँ लुटपाटमा संलग्न दुई प्रहरी सहित चारजना अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन् ।विशाल बजारका क्यामरा व्यापारी अग्रवालको साथबाट १० लाख लुटपाट गरेको आरोपमा असार १० मा अपराध महाशाखाले हवल्दार धिरेन विष्ट र जवान विक्रम चन्दलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धिरेन परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीका घुमुवा हुन् ।
जिल्ला अदालत काठमाडौँले दुई प्रहरी र उनीहरुलाई सुराकी दिने सम्वृद्ध सहकारी न्यूरोडका कार्यरत क्यासियर रेणु श्रेष्ठ र सो सहकारीका पूर्वकर्मचारी सौरभ अधिकारीलाई पनि ‘लुटपाट मुद्दा’मा पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ । उनीहरुलाई केन्द्रीय कारगार सुन्धारामा थुनामा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सहकारीमा कार्यरत क्यासियर रेणुले दिएको सुराकीको आधारमा हवल्दार विष्ट, जवान चन्द र सौरभले सोही सहकारीबाट निकालेको १७ लाख मध्ये १० लाख रुपैयाँ लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रहरी जवान चन्द महराजगञ्जस्थित गण नम्बर–२ मा कार्यरत थिए । हवल्दार विष्ट महानगरीय प्रहरी परिसर काठमाडौँको सादा पोशाकमा खटिने प्रहरी हुन् । सादा पोशाकमा एसएसपीले आफ्ना विश्वासपात्रलाई मात्र खटाउँछन् ।
प्रतिक्रिया