कपिलवस्तु २० साउन । कोभिड–१९को संक्रमण रोकथाम गर्न नेपाल सरकारले देशव्यापी जारी गरेको लकडाउन अवधिको घरभाडा छुटदिने क्रम कपिलवस्तुमा पनि बढिरहेको छ ।पछिल्लो समय बाणगंगा नगरपालिका–४ सिद्धिपुरका मनकारी घरबेटी महेन्द्र बहादुर क्षेत्रीले पनि ३ महिनाको घरभाडा छुट दिनुभएको छ ।घरबेटी क्षेत्रीले तौलिहवा रोडमा रहेको आफ्नो ३ तल्ले घरको चैत, वैशाख, र जेठ महिनाको सबै घरभाडा छुट दिनुभएको हो । हाल लण्डनमा बस्दै आउनुभएका क्षेत्रीले लकडाउनको कारण व्यपार, व्यवसाय र बजार पूर्ण रुपमा बन्द हुँदा व्यवसायीहरु चरम मारमा परेकोे आफुले महसुस गरेर थोरै भएपनि राहत दिने उद्देश्यले यस्तो छुट दिएको बताउनु भएको छ ।
क्षेत्रीको घरको भुई तल्लामा युनाईटेड अफसेट प्रेस, पहिलो तल्लामा आर्जित किराना पसल र युनाईटेड अफसेट प्रेसको कार्यालय रहेको छ भने दोस्रो तल्लामा कमन नेपाल प्रा. लि. र नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुका कार्यालयहरु सञ्चालित छन् । लकडाउनको कारण ठुलो आर्थिक क्षति व्यहोरेका उद्योगी व्यवसायीहरुले ३ महिनाको घरभाडा छुट पाएपछि राहतको अनुभूती भएको प्रतिक्रिया दिएका छन् । घरभाडा छुट दिएकोमा व्यवसायीहरुले मनकारी घरबेटी क्षेत्री प्रति विशेष आभार प्रकट गरेका युनाईटेड अफसेट प्रेसका सञ्चालक बावुराम मरासिनीले बताउनु भयो ।
प्रतिक्रिया