रोल्पा, २६ साउन । रोल्पा नगरपालिका–९ चोयबाङ निवासी मइमन पुन विगत सात वर्षदेखि भेडी गोठालो हुनुहुन्छ । वर्षले ५१ पुगेका पुनको दैनिकी करीब ५०० भेडा र बाख्राको हेरचाहमै वित्दै आएको छ । उहाँ घरदेखि करीब तीन हजार ५०० फिट अग्लो रानीवास भन्ने लेकमा भेडाबाख्रासँगै रमाइ रहनु भएको छ । सुनसान अग्लो, लेकको जङ्गलमा सानो छाप्रा बनाई भेडा र बाख्रासँगै दैनिकी काटिरहनुभएका पुनले सुरक्षाका लागि चार वटा भोटे कुकुरसमेत पाल्नुभएको छ ।
आधुनिक तरिकाले भेडा र बाख्रा पालन नगरिएकाले उहाँलाई कहिलेकाहीँ चरिचरनको समस्या पर्ने गरेको गुनासो गर्नु भयो । पुनले पालेका भेडा र बोका पूजाका लागि डोल्पा, रुकुम, सल्यान, दाङ, प्युठान, बुटवल, नेपालगञ्ज लगायतका स्थानमा लैजाने गरिएको बताउनुभयो । एउटा भेडालाई चार हजारदेखि आठ हजारसम्म र च्याङग्रा खसीलाई ४२ हजारसम्ममा विक्री गर्ने गरेको उहाँको भनाइ छ । यसरी वार्षिक १० लाखसम्म आम्दानी गर्ने गरेको पुनले बताउनुभयो । उहाँ जस्तै ग्रामीण भेगका केही घरपरिवार लेकमा भेडा, बाख्रा, च्याङग्रा पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । (रासस)
प्रतिक्रिया